काठमाडौँ – सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ ।
सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आज सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले उद्घाटन गर्दै विशेषगरी महिला कर्मचारीहरु सुत्केरी बिदा सकिएपछि शिशुलाई कसरी हुर्काउने भन्ने समस्याबाट चिन्तित हुने र शिशु घरमै भएपछि काममा समेत प्रभावकारीता नहुने भएकाले यसको न्यूनीकरणका लागि सो केन्द्रको स्थापना गरिएको बताउनुभयो ।
विद्यालय जानुअघि कर्मचारीका छोराछोरीलाई शारीरिक, बौद्धिक र मानसिक विकास गराई समयानुकूल वातावरणमा प्रवेश गराउनु नै केन्द्रको मुख्य उद्देश्य रहेको शिशु स्याहार केन्द्रको स्थापना गर्न खटिएकी शाखा अधिकृत सम्झना सिंखडाले जानकारी दिए।
शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहारको व्यवस्था मिलाइएको छ । शुरुमा दुई जना आमा ९कर्मचारीको० व्यवस्था गरिएको छ भने आवश्यक सहयोगका लागि सर्वोच्च प्रशासनलाई जिम्मा दिइएको छ ।
सो केन्द्रमा ६ महीनादेखि ३ वर्षसम्मका बालबालिकालाई राखिने भएको छ । स्याहार केन्द्रमा रहने बालबालिकाको भर्ना आजैदेखि शुरु भइसकेको जनाएको छ ।




प्रतिक्रिया