काठमाडौं– गोरखा भूतपूर्व सैनिक सङ्घले बेलायती सेना र गोरखा भूपू सैनिकबीच हुँदै आएको विभेद अन्त्य नभएसम्म आफूहरुको सङ्घर्ष अन्त्य नहुने जनाएको छ ।
संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् १९९७ जुलाई १ अघि सेवा निवृत्त गोरखा भूतपूर्वसैनिकमाथिको तलब, निवृत्तिभरण र अन्य सुविधा बेलायती सैनिकलाई सरह बराबरी नदिएको गुनासो गरेको हो ।
संघका अध्यक्ष कृष्णकुमार राईले हालै बेलायती रक्षा राज्यमन्त्रीको नेपाल भ्रमणपछि गोरखा भूपूसैनिकका लागि गरेको प्याकेज घोषणाबाट आफूहरु सन्तुष्ट नभएको बताउँदै सबैखालका सेवासुविधा बेलायती सैनिकसरह उपलब्ध हुनुपर्ने माग गरे।
उनले गोरा सेना र गोरखा सैनिकबीच पेन्सनमा मात्रै २९५ प्रतिशत विभेद रहेको बताउँदै यसको समस्या समाधानका लागि नेपाल सरकार र बेलायत सरकारले पहल गर्नुपर्ने बताए।
संघका उपसभापति मणि किराँत वान्तवाले पेन्सनको माग मात्र पूरा गरे पनि आफूहरुको मागको ९५ प्रतिशत माग सम्बोधन भएको ठहरिने बताउँदै बेलायत सरकारले विभेद नहटाएसम्म आफूहरुको आन्दोलन स्थगित नहने बताए।
अवकाश प्राप्त पूर्वगोरखा सैनिक डा चन्द्र लक्सवाले गोरखा सैनिकबीचको सेवासुविधामा विभेदविरुद्ध आफूहरुले लामो समयदेखि आन्दोलन गर्दै आएको बताउँदै यसलाई सम्बोधन भएन भने आफूहरुले थप आन्दोलन गर्ने बताए।




प्रतिक्रिया