काठमाडौं– घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
उनीविरुद्ध अख्तियारले ७८ लाख विगो दावीसहित मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।
अख्तियारले यही घुस प्रकरणमा जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले लिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिङ कलेजसंग सम्बन्धित नरहेकोले त्यस विषयमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको जनाएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाहीको माग गर्दै मुद्दा दायर गरेको हो।
भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ। उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
सोही ऐनको दफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घूस लिएको पुष्टि भए यी दुवै सजाय हुने व्यवस्था समेत छ। यो प्रकण प्रमाणित भए पाठकको हकमा दुवै व्यवस्था आकर्षित हुन्छन्। दुवै व्यवस्थाअनुसार उनलाइ ९ देखि १२ वर्षसम्म कैद हुनेछ।
अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ। ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ। सोही बराबरको उनको सम्पत्ति जफत हुनेछ।




प्रतिक्रिया