उर्जामन्त्री पुन र चेक रिपब्लिकका राजदूतबीच भेटः सौर्य ऊर्जा र जलविद्युतमा लगानी गर्न चेक इच्छुक

उर्जामन्त्री पुन र चेक रिपब्लिकका राजदूतबीच भेटः सौर्य ऊर्जा र जलविद्युतमा लगानी गर्न चेक इच्छुक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जा मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा छलफल भएको थियो।

भेटमा ऊर्जामन्त्री पुनले नेपाल र चेक रिपब्लिकको बीचमा धेरै समानता रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे।

उनले अन्तर्राष्ट्रिय फोरमहरुमा समेत दुवै देशको बीचमा समान धारणा र सहकार्य रहँदै आएको भन्दै आगामी दिनमा पनि थप सहकार्य हुने बताए।

मन्त्री पुनले वेस्ट म्यानेजम्याण्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत राजदूत मिलनसँग छलफल गरे। उनले वैदेशिक लगानीका लागि नेपालमा उपयुक्त वातावरण बनेको भन्दै चेक रिपब्लिकका लगानीकर्ताहरुलाई समेत नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

‘वैदेशिक लगानीलाई सहयोग पुग्ने गरी हामीले कानुन निर्माण गरेका छौं, अहिले लगानीका लागि समेत उपयुक्त वातावरण छ, तपाईमार्फत चेकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न चाहन्छु,’ मन्त्री पुनले भने।

भेटमा चेक राजदूत हेवोर्काले चेक रिपब्लिक र नेपालबीच लामो समयदेखि मैत्रीपुर्ण सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरे। उनले वेस्ट म्यानेजम्याण्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा काम गर्न चेक कम्पनीहरु इच्छुक रहेको बताए। साथै एक सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरु इच्छुक रहेको जानकारी समेत उनले बताए।

‘सौर्य ऊर्जा र जलविद्युतको क्षेत्रमा काम गर्न केही चेक कम्पनीहरु इच्छुक छन्, नेपाल सरकारले त्यसका लागि हामीलाई वातावरण बनाईदिनुपर्यो, हामी नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौ,’ राजदूत हेवोर्काले भने।

उनले त्यसका साथै सिंचाइ, पानी र आधुनिक पम्पको क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गरेका थिए।