तत्कालीन अंग्रेज फौजलाई पराजित गरेको जितको प्रतीक जितगढी

तत्कालीन अंग्रेज फौजलाई पराजित गरेको जितको प्रतीक जितगढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – तत्कालीन अंग्रेज फौजलाई पराजित गरेको २ सय ४ वर्षपछि बुटवलस्थित जितगढी किल्लाको मुहार फेरिएको छ। यहाँ शनिबार दोस्रो पटक विजयोत्सव मनाइँदै छ। बुटवल उपमहानगरपालिकाले हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाउने निर्णय गरेको थियो। ऐतिहासिक दस्तावेजका आधारमा वैशाख ७ लाई विजयको दिन भनेर टुंगो लगाइएको विज्ञ टोली संयोजक विमलबहादुर शाक्यको भनाइ छ।

जितगढीलाई गत वर्षभन्दा थप आकर्षक बनाइएको छ। कर्नेल उजिरसिंह थापाको पूर्ण कदको सालिक बनाइएको छ। यो ८ फिट अग्लो छ। ५२ फिट अग्लो टावरमा राष्ट्रिय झन्डा फहराइएको छ। किल्ला क्षेत्र अतिक्रमण गरी बनाइएका सरकारी भौतिक संरचना हटाइएका छन्। विजयोत्सवको तयारीमै ५० लाख रुपैयाँ खर्च भएको छ। प्रदेश ५ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन यसको प्रवद्र्धन थालिएको बुटवलका मेयर शिवराज सुवेदीले बताए।

ऐतिहासिक र वीरताको प्रतीकका रूपमा लिइए पनि यसअघि यो ठाउँ खुला शौचालय र गौचरनमा सीमित थियो। यहाँ विजय भएको स्मरणमा पाल्पामा सिन्दुर जात्रा चल्दै आए पनि यो ठाउँमा केही थिएन। पछिल्लो समय स्थानीय सरकार र सेनाले संरक्षणमा चासो दिएका छन्। ९० प्रतिशत क्षेत्र अझै अतिक्रमणमा रहेको सेनाको अध्ययनले देखाएको छ।

कर्नेल थापाको कमान्डले अंग्रेज फौजलाई हराएपछि तिनाउ नदी किनारमा रहेको किल्लाको नाम जितगढी राखिएको थियो। २ हजार फिटमा पूर्व–पश्चिम फैलिएको किल्ला २ सय ५ फिटमा सीमित छ। विसं १८७१–७२ मा भएका पटक–पटकका युद्धपछि गढी पुनर्निर्माण गरिएको इतिहास भेटिएको छ। त्यसयता कुनै निकायले चासो देखाएका थिएनन्। किल्ला संरक्षण नभएपछि सय वर्षअघि अतिक्रमण सुरु भएको बटौली संरक्षण समिति अध्यक्ष रवीन्द्रगोपाल लाकौलको भनाइ छ। ‘किल्ला क्षेत्रमा सय वर्ष पुराना घर छन्। सुरुङका ढोका कहाँ पुगे पत्तो छैन’, स्थानीय लाकौलले भने।

किल्लाका पाँचवटा ब्लकमध्ये एउटा र आधा मात्रै देखिने हालतमा छन्। सेनाले प्रकाशन गरेको ‘नेपालका किल्ला’ पुस्तकमा जितगढीमा पाँच ब्लक रहेको उल्लेख छ। दुइटा ब्लक तिनाउले बगायो। बाँकीमा घर ठडिएका छन्। पहिलो पटक २०५० सालमा किल्ला उत्खनन गरिएको थियो। मणिमुकुन्द सेन दरबारतर्फ जाने सुरुङमार्ग रहेको आकलन गरिएको छ। कतिपय ऐतिहासिक दस्तावेजमा सुरुङको लम्बाइ, गहिराइ उल्लेख छ।

संरक्षण अभियन्ता लाकौलले आफू सानो छँदा सुरुङको ढोकानजिकै खेलेको स्मरण सुनाए। ‘गुहे खोलाछेउ सुरुङको ढोका ९गुम्बज० नजिकै हामी खेल्थ्यौं’, ७३ वर्षीय लाकौलले भने, ‘त्यहाँ त होटल बनेका छन्।’ कसले र कहिले गढी निर्माण गर्‍यो भन्ने प्रमाण फेला परेको छैन। पाल्पाका राजाहरू प्रथम मुकुन्द सेन, विनायक सेन र अम्बर सेनमध्ये एक जनाले बनाएको हुन सक्ने अनुमान संस्कृतिविद्ले गरेका छन्।

‘मानवनिर्मित सुरुङ रूपको किल्ला नेपालको पहिलो र उल्लेखनीय किल्ला प्रमाणित हुनेछ’, अध्ययनकर्ता प्रा. डा. टेकबहादुर श्रेष्ठले भने, ‘तर, यसको उत्खनन, पुनर्निर्माण र जीर्णोद्धार आवश्यक छ।’ जितगढी बनोटको ‘हिसाब कागज’बारे लन्डनको ब्रिटिस लाइब्रेरीमा अध्ययन गरेका श्रेष्ठले किल्लाको पूर्व–पश्चिम लम्बाइ १ हजार १ सय हात रहेको उल्लेख गरे। सो दस्तावेजमा ‘ज्यामा हात’ भने २ हजार उल्लेख छ। तत्कालीन चल्तीका भाषामा लेखिएकाले अध्ययनपछि मात्र तथ्य पत्ता लाग्ने उनको भनाइ छ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।