७५ वर्ष अघि नेपालमा भएको पहिलो जहाज दुर्घटना, मरेका गिद्ध पनि छरपष्ट

७५ वर्ष अघि नेपालमा भएको पहिलो जहाज दुर्घटना, मरेका गिद्ध पनि छरपष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – “प्लेन टुक्राटुक्रा भई छरिएको थियो। मरेका गिद्ध छरपस्ट थिए। एउटा रुखमाथि प्लेन ठोक्किएको थियो त्यो रुखमा गिद्ध बस्थे। प्लेन बज्रिदा बडेमानको त्यो रुख भाँच्चिन पुगेको थियो” ७५ वर्षअघि नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटनाका ती दृश्य गोकुलप्रसाद शर्माको स्मरणमा अझै पनि ताजा छ।

वि- सं. २००१ सालको त्यो घटना। पुस २ गते राति विमान बडेमानको आवाजका साथ बजारियो। सिरहाको भेडियाका गाँउलेले बेलाबखत आकाशमा विमान उडेको देख्ने गरेकै थिए। आफ्नै गाउँपछाडि रातको समयमा विमान बज्रिएपछि निद्रामा मस्त स्थानीयमा खैलाबैला मच्चिनु स्वभाविक थियो। आगोको मुस्लो देखेपछि उनीहरू घटनास्थलतर्फ कुदाकुद गरे। ऊबेला यातायात र सञ्चार सुविधा नभए पनि विमान खसेको खबर सिरहा बजारसम्म आइपुग्यो, तर खबर आइपुग्न दुई दिन लाग्यो।

पुस ८ गतेको गोरखापत्रमा समाचार पनि छापियो, “सिरहाबाट करिव चार कोस परतिर पौष २ गते राती अमेरिकन चिनु भएको एउटा हवाइजहाज सय डेढ सय गिद्ध बसिरहेको रुखमा बज्रेर नगिचैको पानीमा गाडिई चूर भएछ। पाइलटको पत्तो छैन। विशेष खबर पछि।” तेजारथ सिरहा बजारमा थियो। त्यसैले हाकिमहरूको बसोबास पनि उतै थियो। बजारमै घर थियो गोकुलप्रसादको।अमिनीका लेफ्टिनेन्ट रुद्रपाणि गौतम र मुन्सी जगदीशनारायण लाल दास घटनास्थल जाने कुरा तय भयो। “रुद्रपाणि र जगदीशनारायण जाने भएपछि म पनि उनीहरूसँगै लागे।

दुई घण्टा हिँडेपछि घटनास्थल पुग्यौँ” आफू १० वर्षको हुँदाको घटनाका बारेमा गोकुलप्रसादले बेलिविस्तार गरे। “दुई वटा जीपमा विदेशी पनि आएका थिए। हामी भेडिया पुगेपछि विदेशी पनि टुप्लुक्क आइपुगे। रुद्रपाणिले अङ्ग्रेजी जान्दैन थिए। जगदीशनारायणले ती विदेशीलाई अङ्ग्रेजीमै व्याख्या गरे।” उनका अनुसार विदेशी सात, आठ जना थिए। विमान निकै ठूलो पनि होइन, सानो पनि होइन। सेतो रङ्गको थियो। तिनताक गोरखापत्रमा बेलाबखत सेतो रङ्गको विमान नेपाली आकासमा उडेको समाचार छापिन्थ्यो। यदाकदा कालो रङ्गको विमान उडेको खबर पनि छापिएको पाइन्छ।

२००१ साल पुस ५ गते पनि यस्तै समाचार छापिएको थियो, “पौष १ गतेका दिन ३ बजे एउटा विमान सदर चार भन्ज्याङ्गभित्र बादलमुनी देखिएको थियो। केही बेर घुमी हरायो।” बन्दीपुर, गोर्खा, पशुपतिनगर, तेह्रथुम आदि स्थानमा विमान देखिएका समाचार गोरखापत्रले छापेका थिए। गोकुलप्रसादले पनि बेलाबखत आकासमा उडिरहेका विमान देख्ने गर्नुभएकै थियो। त्यहाँभित्र मानिस हुन्छन् भनेर कसैकसैले भनेको उनले सुन्नुभएको पनि थियो। त्यो विमान खसेको स्थान नजिकै पानी जमेको खाल्डो पनि थियो। चालकको अत्तोपत्तो थिएन। कति सवार थिए भन्ने पनि कसैले भन्न सकेन।

“मानव शरीरका टुक्रा केही देखिएन। चालक जलेर नष्ट भए वा भाग्न सफल भए भन्ने कसैले केही भन्न सकेन” ८७ वर्षीय गोकुलप्रसादले भन्नुभयो। विमान दुर्घटना भएको दुई दिन बितिसकेकोले विमानमा आगो देखिएन। विदेशीले स्थानीयको सहायताबाट विमानका अवशेषलाई सङ्कलन गरी तीन, चार ठाँउमा थुपारे। आगो लगाइयो। रुद्रपाणि र जगदीशनारायण त्यस दिन विदेशीका साथ त्यही बसे, गोकुलप्रसाद लुरुलुरु एक्लै घर फर्किनुभयो।

पछि फागुन ११ गतेको गोरखापत्रमा ‘अघि खसेको हवाइजहाजको अन्तेष्टी’ शीर्षकमा समाचार छापियो, “यही मेडियाले पहिले खसेको हवाइजहाज लिन भनी सालमेन पार्टीबाट १२ गतेका दिन सिरहामा आएर हवाइजहाजको जाँच गरी काम नलाग्ने ठहर्याइ जम्मै पाट र टोटामा प्याट्रोल खनाइ आगो लगाइ जलाए, भोलिपल्ट आफ्ना मुलुकतिर गए।” गोकुलप्रसादले विमान चालक नहुनुलाई अहिले पनि रहस्यका रुपमा लिनुहुन्छ। उनको शंका छ, ‘मरेको हुनुपर्दछ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।