काठमाडौं – मुस्लिम समुदायको पवित्र पर्व रमजान आज मंगलबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् ।त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ । सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । यो महिनाभर दिनभर केही पनि नखाइ निराहार रोजा (व्रत) बस्ने गर्छन् ।
इस्लाम धर्मावलम्बीहरूको आठौँ महिना अर्थात् ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ । रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा नमाज पढ्ने चलन छ । व्रत समयावधिभर होहल्ला नगरी एकदमै अनुशासित तरिकाले बस्नुपर्ने भएकाले संयमित भएर व्रत बस्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरू बताउँछन् । यो महिनाभर व्रत बस्नाले आँटेको पूरा हुने विश्वास गरिन्छ ।
रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया,दानशी लतालगायतका आचरणमा विकास आउने विश्वास छ । रमजानको पहिलो दशदिन रहमनावाला (दयारकृपा) दोस्रो दश दिन वर्कतवाला र तेस्रो दश दिन मग्फिरत (छुटकारा) हुने दिनको रूपमा लिइन्छ । रमजानको २० औँ दिनदेखि भने रोजा बस्ने व्यक्तिले राति नमाज पढ्ने, कुरान पढ्ने आदि गरेर इत्तकाफ बस्नुपर्ने चलन रहेको छ ।
रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।




प्रतिक्रिया