भारतमा सत्ताको खेल : कसरी सम्भव भयो नरेन्द्र मोदीको पुनरावृत्ति ?


काठमाडौं – भारतीय लोकतन्त्र दशकौंदेखि आवधिक निर्वाचनमा टिकेको छ र निर्वाचनले नै सत्ताको खेललाई नियमवद्ध गरेको छ । पछिल्लो दशकमा भारतीय राजनीतिमा उदाएका छन् नरेन्द्र मोदी । गुजरातको मुख्यमन्त्री हुँदै राष्ट्रिय राजनीतिमा उदाएका मोदी पुनः भारतको प्रधानमन्त्री हुने अवस्था देखिएको छ । सन् २०१४ मा ऐतिहासिक जीत हात पार्दै नयाँदिल्लीस्थित केन्द्रीय सत्ताको नेतृत्व सम्हालेका मोदीले सन् २०१९ को निर्वाचनमा समेत आफ्ना सुखद प्रदर्शन गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रष्ट भइसकेको छ ।

भारतको सत्ता पाँच वर्ष सम्हालेका नरेन्द्र मोदी पुनः उदाएपछि अब १० वर्ष केन्द्रीत सत्तामा रहने छन् । यसअघि मोदी लगातार लामो समय गुजरातको मुख्यमन्त्री बनेका थिए । उनले लामो समयदेखि लगातार सत्ताको स्वाद चाखिरहेका छन् र आफूलाई सादगी र सेवक नेताको रुपमा प्रस्तुत गर्छन् । पहिलो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुँदा नरेन्द्र मोदीको नोटबन्दीको फैसलाले जनताले खुबै दुःख पाए । निर्वाचनताका लगाएको अयोध्याको राममन्दिरको एजेन्डा समेत मोदीले पूरा गर्न सकेनन् । तर ठूला मुद्दा नै समाधान नभएको बेला मोदीका लागि सत्ताको पुनरावृत्ति कसरी सम्भव भयो ? भारतीय राजनीतिमा विश्लेषण हुन थालेको छ ।

लोकप्रिय ब्राण्ड र विकासे एजेन्डा
भारतीय राजनीतिमा नरेन्द्र मोदीको छवि लोकप्रिय नेताको रुपमा स्थापित भएको छ । भाजपाले मोदीलाई ‘ब्राण्ड’को रुपमा स्थापित गरिसकेको छ । मोदी ब्राण्डलाई विस्थापित गर्न सक्ने अर्काे बलियो ब्राण्ड भारतीय राजनीतिमा देखिएनन्, जसले गर्दा भाजपाको जीत सहज भयो । गुजरातमा थुप्रै विकास गरेर देखाएका मोदीको छवि विकासे नेताको रुपमा समेत स्थापित छ । गुजरातको जगमा मोदीले आफूले देशभर विकासवादी नेताको रुपमा स्थापित गर्न सफल भएका छन् । उनी नेतृत्वको सरकारले आर्थिक र विकासका एजेन्डालाई जनतासामु राम्ररी नै स्थापित गरेको छ ।

आतंकवादविरुद्ध प्रहार र राष्ट्रवादी छवि
मोदीले पहिलो प्रधानमन्त्रित्व कालमा आफूलाई आतंकवादविरुद्ध प्रहार गर्ने नेताको रुपमा उभ्याए । सीमा सुरक्षा, सेना र शहीदप्रति मोदी सदैव संवेदनशील देखिए । जसले गर्दा मोदीलाई राष्ट्रवादी नेतृत्वको रुपमा स्थापित हुन सहज भयो । निर्वाचनको मुखैमा पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेर प्रधानमन्त्री मोदीको छविलाई थप बलियो बनाएको थियो । मोदीले आफूइतरका शक्तिलाई राष्ट्रघाती भएको संकेत गर्दै राष्ट्रलाई जोगाउन आफूलाई नै जिताउनुपर्ने तरिकाले प्रचार गरे, जुन प्रचारशैली अत्यन्तै सफल भएको देखिएको छ ।

सहयात्रीलाई रिझाउने रणनीति
मोदीले राजकीय नेतृत्व गरेको भाजपा गठबन्धनमा रहेका दललाई सदैव महत्वका साथ हेर्ने गरियो । मोदी सरकार बनेपछि गठबन्धनमा अरु दललाई सामेल गरेर गठबन्धन बलियो बनाउने काम भयो । बिहारमा शक्तिशाली मानिने नितिश कुमारलाई हातमा लिन मोदी सफल भए । अन्य विभिन्न प्रदेशमा समेत क्षेत्रीय दलसँग मिलेर भाजपाले प्रदेश सरकारमा सहकार्य गरिरहेको छ ।

केन्द्रमा मोदीको छवि र प्रदेशमा स्थानीय समीकरणको साथ पाउँदा मोदीलाई जीत हात पार्न झनै सहज भयो । पटक–पटक मतभेद देखिने शिवसेनाले समेत यसपालि भाजपालाई साथ दियो । आफू सत्तामा हुँदा मोदी सरकारले सहयात्रीलाई सदैव रिझाउने र समन्वय गर्ने रणनीति लिएका कारण समेत मोदीलाई चुनाव जित्न सहज भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement