फेरिँदै उपत्यकाको अपराध ट्रेन्ड : साइबर र आर्थिक अपराध बढ्यो, गुन्डागर्दी घट्यो

फेरिँदै उपत्यकाको अपराध ट्रेन्ड : साइबर र आर्थिक अपराध बढ्यो, गुन्डागर्दी घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको प्रहरीको पछिल्लो तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गुन्डागर्दी घटेका छन् भने विद्युतीय माध्यम र बैंकिङ कारोबारसँग सम्बन्धित अपराध ह्वात्तै बढेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पाँच वर्षअघि ०७१-७२ मा उपत्यकाभित्र बैंकिङ कसुरसँग सम्बन्धित १७ मात्रै मुद्दा दर्ता भएका थिए । तर, चालू वर्षको वैशाख मसान्तसम्म मात्रै यस्ता एक हजार सात सय ५८ मुद्दा दर्ता भएका छन् । त्यस्तै विद्युतीय कारोबारसँग सम्बन्धित मुद्दा पाँच वर्षअघि २८ वटा मात्रै दर्ता भएकोमा अहिले पाँच गुणा बढेर एक सय २१ पुगेको छ ।

गुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना भने ठप्पजस्तै भएका छन् । पाँच वर्षयता व्यक्ति अपहरणका कुनै पनि मुद्दा दर्ता नभएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । संगठित प्रकृतिका अपराधको उजुरी पनि शून्यमा झरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले उपत्यकाभित्र अपराधको ‘ट्रेन्ड’ बदलिएको बताए । उनले भने, ‘उपत्यकाभित्र विगतमा गुन्डागर्दीका अनेक घटना हुन्थे । प्रहरीको ठूलो शक्ति गुन्डागर्दी नियन्त्रणमा खर्च हुन्थ्यो । तर, अहिले त्यो ट्रेन्ड बदलिएको छ । अहिले प्रहरीको ठूलो शक्ति आर्थिक तथा विद्युतीय अपराधसँग सम्बन्धित अपराध अनुसन्धानमा लाग्नुपर्ने स्थिति छ । चेक बाउन्स तथा सामाजिक सञ्जालमार्फत हुने अपराधका मुद्दा बढी छन् ।’

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले उपत्यकाभित्र अपराध टे«न्ड परिवर्तन हुनुमा प्रहरीको सक्रियता मुख्य कारण रहेको बताए । उनले भने, ‘तथ्यांक हेर्दा गुन्डागर्दी तथा व्यक्ति अपहरणका घटना घटेका छन् । वास्तविकता पनि त्यही हो । गुन्डागर्दीप्रति प्रहरीको कठोर नीति मुख्य कारण हो । विगतका दिन इन्काउन्टरका धेरै घटना भए । कति गुन्डा मारिए । कति अझै पनि जेलमा छन् । बाहिर भएका पनि निष्क्रिय छन् । तर, साइबर र आर्थिकसँग जोडिएका अपराध भने बढेका छन् । यी अपराध अनुसन्धान गर्न जटिल छ । यसमा प्रहरी गम्भीर छ ।’ यो समाचार नयांपत्रिका दैनिकमा छ ।