काठमाडौं – सरकारले दूरसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त माग गरेको छ । सोमबार (आज) एक सूचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो ।
सो पदका लागि इच्छुक उम्मेदवारले असार ९ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । सो पदका लागि ३० देखि ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन गर्न सक्ने आज प्रकाशित सूचनामा जनाइएको छ । उम्मेदवारका लागि अन्य योग्यतामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ ।
त्यसैगरी सो पदका लागि टेलिकम क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव अनिवार्य हुनुपर्ने उल्लेख छ । त्यस्तै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी, दशौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव आज प्रकाशित सूचनामा उल्लेख छ ।
सो पदका लागि उम्मेदवारले पेस गरेको निवेदनका आधारमा यसको व्यावसायिक कार्ययोजना, त्यसको प्रस्तुतीकरण र अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभवको मूल्याङ्कनका आधारमा नियुक्तिका लागि सिफारिस गरिने सूचनामा जनाइएको छ ।
यसअघि प्राधिकरण अध्यक्षमा नियुक्त दिगम्बर झाले गत पुसमा राजीनामा दिएपछि अध्यक्ष पद रिक्त छ ।




प्रतिक्रिया