रेल पूर्वाधार विकाससम्बन्धी छलफल गर्न नेपाली टोली बेइजिङ जांदै

रेल पूर्वाधार विकाससम्बन्धी छलफल गर्न नेपाली टोली बेइजिङ जांदै


काठमाडौं – काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न नेपालको सरकारी टोली आज (सोमबार) चीन जांदै छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा ७ सदस्यीय टोली सोमबार बेइजिङ जान लागेको हो ।

भौतिक सचिव कार्कीले काठमाडौं–केरुङ रेलमार्ग,डिपिआर निर्माण र मानवीय स्रोत विकासका बारेमा बेइजिङमा छलफल हुने बताए । ‘पुर्व सम्भाव्यता अध्ययन, तालिम र काठमाडौं–केरुङ रेलमार्गलाई कसरी अघि बढाउने भन्ने विषयमा हाम्रो छलफल केन्द्रित हुन्छ,त्यसका साथै पुर्वाधार विकास गर्ने वारेमा समेत हामी छलफल गर्छौ ।’ सचिव कार्कीले काठमाडौंपाटीसंग भने ।

नेपाली टोलीले काठमाडौं–केरुङ रेलमार्ग निर्माणका साथै काठमाडौं–पोखरा रेलमार्ग निर्माणका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ ।

भौतिक योजना मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले रेल पूर्वाधार विकाससम्बन्धी छलफल गर्न सचिव कार्की नेतृत्वको प्रतिनिधि मण्डल चीन जाने तयारी भएको बताए ।

टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल ,राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकारका साथै अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।