काठमाडौँ-सरकारले हरेक असार १४ गते फलफूल लगायतका विरूवा रोपेर राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले उक्त निर्णय गरेको बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए।
सरकारले राष्ट्रियस्तरमा ‘वृक्षारोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । मन्त्री बास्कोटाले भने– ‘२०१८ जुन ५ देखि ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’ शुभारम्भ भएकाले सो अभियान सफल बनाई मुलुकलाई फलफुलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफुललगायतका विरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरिएको छ ।’
साथै लुम्बिनी क्षेत्र लगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफुल तथा औषधीजन्य हर्बल विरूवा रोपण गर्ने निर्णय गरिएको उनले बताए ।
वन तथा वातावरण मन्त्रालयले प्रधानमन्त्री ओली, वनमन्त्री बस्नेतसहितको उपस्थितिमा आगामी शनिबार चक्रपथको बालकुमारी–कलंकी सडकखण्डमा तीन हजार ३ सय बोटबिरुवा रोप्दैछ। असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिए। राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।
सरकारले गत वर्ष ‘एक नेपाली एक फलफूल’ अभियान चलाएको थियो। अभियान अन्तर्गत २९ लाख बिरुवा रोपिएको थियो।




प्रतिक्रिया