काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले निमित्त महानिर्देशक पोखरेललाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। जेठ १२ गते सञ्जीव गौतमले अवकाश पाएपछि पोखरेल निमित्तको भूमिकामा थिए। पोखरेलले शुक्रबार महानिर्देशकको नियुक्तिपत्र बुझेका छन्।
महानिर्देशक बनेसँगै पोखरेलले युरोपेली आकाशमा नेपाली वायुसेवा कम्पनीमाथिको प्रतिबन्धबाट हटाउन पहल गर्ने बताएका छन्। उनले गौतम बुद्ध विमानस्थल एक वर्षमा सक्ने, पोखरा विमानस्थल निर्माणलाई तीव्र बनाउने र निजगढ विमानस्थलको निर्माण सुरु गर्ने योजना रहेको बताएका छन्।
सरकारले बारामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गराएर निर्माणका लागि प्रक्रिया थालिसकेको छ । विमानस्थलको डीपीआर, मोडालिटी तय गर्न र लगानी जुटाउन गृहकार्य भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया