निजगढ विमानस्थलः तत्काल रुख काटेर निर्माण प्रक्रिया थाल्न संसदीय समितिको निर्देशन

निजगढ विमानस्थलः तत्काल रुख काटेर निर्माण प्रक्रिया थाल्न संसदीय समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल थाल्न सरकारलाई निर्देशन दिएको छ।

‘गेम चेन्जर’ भनिएको विमानस्थल निर्माणका लागि गत वर्ष नै वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गराएर पहिलो चरणमा रुख कटानका लागि प्रक्रिया थालिए पनि व्यापक विरोधपछि फाइल वन मन्त्रालयमै अड्किएको छ। पहिलो चरणमा पूर्वाधार निर्माण हुने क्षेत्रमा सानाठूला गरी ७ लाख रुख काट्नुपर्ने छ।

समिति सभापति दिलकुमारी रावल (पार्वती) को अध्यक्षतामा शुक्रबार बसेको बैठकले विमास्थलबारे छलफल सहित ७ लाख रुख काट्न निर्देशन दिएको हो ।
त्यस्तै, समितिले विमानस्थलस्थल निर्माणको मोडालिटी बनाउन र तत्काल डीपीआर तयार गरी निर्माण कार्य प्रारम्भ गर्न निर्देशन दिएको छ। विमानस्थल निर्माण हुने क्षेत्रमा पर्ने बारा जिल्लाको टाँगिया वस्ती व्यवस्थान छिटो गरी निर्माण कार्य शुरु गर्न पनि समितिले सरकारलाई सुझाएको छ ।

निजगढ विमानस्थल राष्ट्रिय गौरवका आयोजना हो । काठमाडौँ—तराई÷मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि निजगढ र काठमाडौँको दूरी छोट्टिनेछ।

टाङ्गियाबस्तीलाई सार्न पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन भइसकेको छ। विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई अन्यत्र सार्नका लागि बारा जिल्लाकै पिलुवा, हरैया र कोल्हवी नगरपालिकाको उत्तरपट्टि रहेको तामागढी क्षेत्रमध्ये एक ठाउँमा सारिने गरी ठाउँ हेरिएको छ ।

विमानस्थलको धावनमार्गको बीचमै सो टाङ्गियाबस्ती परेकाले यसलाई अन्यत्र सार्न करीब चार अर्ब लाग्ने अनुमान गरिएको छ ।

विमानस्थल निर्माणका लागि नेपिको र ईराड (जेभी) परामर्शदाता कम्पनीले सन् १९९५ मा देशका आठ ठाउँमा गरेको पूर्व सम्भाव्यता अध्ययनले समेत निजगढलाई नै उपयुक्त ठाउँको रूपमा छनोट गरेको थियो। विमानस्थलले ओगट्ने क्षेत्रफल ८ हजार ४५ दशमलव ७९ हेक्टर रहेपनि १ हजार ९ सय हेक्टरमा आधारभूत संरचना बन्ने छ। विमानस्थलको लागत ६ सय ५६ करोड अमेरिकी डलर अनुमान छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलका रुपमा लिइएको विमानस्थल लम्बाई पूर्वपश्चिम राजमार्गतर्फ १० किलो मिटर र चौडाई ८ किलोमिटर गरी ८० स्क्वायर किलोमिटरमा बन्न लागेको हो। ४ हजार मिटर लामो र ४५ मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुनेछ।