काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनको पत्र वितरण गर्न सुरु गरेसँगै कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ ।
कर्मचारी समायोजन ऐन कार्यान्वयनको क्रममा जिम्मेवारी हेरफेर भएको स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईंले बताए ।
मन्त्रालयले स्वास्थ्य सेवा विभागको जिम्मा मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिएको छ भने हालका निमित्त महानिर्देशक डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगरको जिम्मेवारी दिएको छ ।
त्यसैगरी, औषधि व्यवस्था विभागमा पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशकको रुपमा राख्दै सो जिम्मेवारी पूरा गर्दै आएका हालका महानिर्देशक नारायणप्रसाद ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको रुपमा जिम्मेवारी सुम्पिएको छ ।
मन्त्रालयका अनुसार परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी बिच्छालाई कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ भने डा परिवार कल्याण महाशाखामा डा भीमसिंह तिंकरीलाई ल्याइएको छ ।
डा तिंकरीले सम्हालेको राष्ट्रिय क्षयरोग केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा सागरराज भण्डारीलाई ल्याइएको छ ।
यस्तै सार्क क्षयरोग केन्द्रमा डा रमेश खरेल र राष्ट्रिय तालिम केन्द्रमा मोहम्मद साउदलाई निर्देशकको रुपमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी व्यवस्थापन महाशाखाको जिम्मेवारी प्रदेश १ का स्वास्थ्य निर्देशक रहेका भोगेन्द्रराज डोटेलले पाएका छन् । नरदेवी आयुर्वेद अस्पतालको निर्देशक भने डा प्रदीप केसीलाई दिइएको छ ।
मन्त्रालयका समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह र आयुर्वेद तथा बैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायको जिम्मेवारी भने यथावत राखिएको छ ।




प्रतिक्रिया