काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान शहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।
ज्ञवाली सोमबार ‘विश्व अर्थतन्त्रमा नयाँ अवसरहरुको खोजी’ शीर्षकमा हुने अनौपचारिक छलफलमा सहभागी हुनेछन् भने सन् २०२० का लागि जि–२० कार्यसूची विषयको छलफल सत्रमा पनि सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवालीले मंगलबार ‘जलवायु परिवर्तन भावी वित्तीय संकट ?’ र नयाँ शक्ति सङ्कलन विषयका अतिरिक्त सत्रमा नेपालका तर्फबाट सम्बोद्धन गर्नेछन् । डालियानमा रहँदा उनले राजनीतिक एवं व्यापारिक वर्गसँग पनि भेटवार्ता गर्नेछन् ।
मन्त्री ज्ञवाली यही १८ गते डालियानबाट बेइजिङतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उच्चस्तरीय चिनियाँ अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्रीका साथ चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सहसचिव घनश्याम भण्डारीलगायत छन् ।
मन्त्री ज्ञवाली असार २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत मन्त्रालयका उच्च पदाधिकारीले बिदाई गरेका थिए ।




प्रतिक्रिया