काठमाडौं । शान्ति प्रक्रियाको सुरक्षित निरुपणका लागि अत्यावश्यक मानिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगका पदाधिकारी नियुक्तिमा सहमतिको प्रयास भएको छ ।
द्वन्द्वकालीन मुद्दालाई किनारा लगाउनुपर्ने आयोग भएकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सत्तापक्षले यसमा प्रतिपक्षको समेत सहमति खोजेको छ । कांग्रेस समेत सत्य निरुपण आयोगमा संवेदनशील देखिएको छ ।
संवेदनशीलताबीच पदाधिकारी नियुक्तिमा भने सत्तापक्ष र प्रतिपक्षका आ–आफ्नै स्वार्थ देखिएका छन् । आयोगले गर्ने कामकारवाहीदेखि पदाधिकारी नियुक्तिसम्म दुवै पक्ष संवेदनशील देखिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत द्वन्द्वकालीन समयका एक पक्ष हुन् भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत एक पक्ष । तसर्थ दुवै आयोग गठन, पदाधिकारी नियुक्ति र त्यसको कामकारवाहीमा संवेदनशील देखिएका छन् ।
द्वन्द्वकालीन मुद्दालाई कानूनी कारवाहीको विषयभन्दा पनि मेलमिलापको विषय बनाउनु नै शान्ति प्रक्रिया अनुकूल हुनेमा दुवै पक्ष एकमत त छन् । तर कतै आयोगलाई आफूविरुद्ध प्रयोग गरिने पो हो कि भन्ने त्रास समेत रहेको छ ।
सहमति र त्रासबीच सत्तापक्षरप्रतिपक्ष सहमतिका प्रयास भइरहेका छन् । यसबीच शीर्ष नेता प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, सभापति देउवा लगायत दोस्रो तहका नेताले समेत थुप्रै छलफल गरिसकेका छन् ।
कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष आफूले सिफारिस गरेका व्यक्तिलाई दिलाउन माग गरेको छ । प्रचण्डलाई सहमतिमा ल्याई प्रधानमन्त्रीमाथि दबाब दिने कांग्रेसको योजना रहेको छ ।
कांग्रेसको स्वार्थ पूरा गराउन शान्ति प्रक्रिया शुरू हुँदा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँगै सक्रिय रहेका कृष्णप्रसाद सिटौला सक्रिय देखिएका छन् । सिटौलाले शान्ति प्रक्रियाको संवेदनशीलतालाई नजिकबाट बुझेका छन् ।
कांग्रेस अनुकूल पदाधिकारी नियुक्त गराउन सिटौलाले प्रचण्डलाई भेटेका छन् । सिटौलाले आईतबार खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग झण्डै एक घण्टा आयोग गठनबारे छलफल गरेका छन् ।
‘प्रचण्डजी र हाम्रो सभापति देउवाजीबीच आयोग गठनबारे पटक–पटक छलफल भइरहेको छ । त्यसमा म पनि सहमतिको प्रयासका लागि लागिरहेको छु,’ सहमतिका प्रयासबारे बताउँदै नेता सिटौलाले भने, ‘सत्य निरूपणको विषय कांग्रेस र तत्कालीन माओवादी नेतृत्वका लागि गम्भीर विषय भएकाले यसको नेतृत्व सहमतिमै टुंगो लगाउनुपर्छ भनेर प्रयास भइरहेको छ ।’
आयोगबारे छलफल गर्न गत बिहीबार कुपण्डोलस्थित समिट होटलमा प्रचण्ड–देउवाबीच छलफल भएको थियो । कांग्रेसले आयोग अध्यक्षका लागि डा। सूर्य ढुंगेललाई अघि सारेको र प्रधानमन्त्री केपी ओलीले गोविन्द बन्दी कोइरालालाई अघि सारेको जनाइएको छ ।
आयोग गठनबारे प्रधानमन्त्रीले पनि कांग्रेस सभापति देउवा र पार्टीका अर्का अध्यक्ष प्रचण्ड, कानूनमन्त्री भानुभक्त ढकाल लगायतसँग तीन चरणमा सामूहिक छलफल गरिसकेका छन् ।
शान्ति प्रक्रियाको बाँकी काममध्ये सत्यनिरूपण र बेपत्ताको काम मात्र गर्न बाँकी रहेको छ । यसअघि डा। सूर्य्किरण गुरुङको अध्यक्षतामा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन भएको थियो । आयोगमा द्वन्द्वकालीन ६३ हजारभन्दा बढी उजुरी परेका छन् ।
द्वन्द्वकालीन मुद्दाको टुंगो नलागेका कारण अन्तर्रा्ष्ट्रिय समुदायले पटक–पटक प्रश्न उठाउने गरेको छ । द्वन्द्वकालमा सत्तापक्ष र विद्रोही पक्ष रहेका नेतृत्व अप्ठ्यारोमा पर्न सक्ने संकेत अन्तर्रा्ष्ट्रिय समुदायले दिने गरेको छ । द्वन्द्वकालीन मुद्दालाई यथाशीघ्र टुंगोमा पुर्याउने दबाब राजनीतिक नेतृत्वमाथि छ ।




प्रतिक्रिया