काठमाडौँ— सरकारले ३ वर्षअघि शुरु गरेको ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत धमाधम झोलुंगे पुल निर्माण थालिएको छ। हालसम्म १ सय २१ तुइन विस्थापन गरी सोही संख्यामा झोलुङ्गे पुल निर्माण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
स्थानीय पूर्वाधार विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठका अनुसार थप १० स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गरी त्यस ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न निर्देशन दिएका थिए। विभागले देशभर १२० मिटरभन्दा लामो झोलुङ्गे पुलको निर्माण गर्दै आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झोलुंगे पुल निर्माणका लागि तीनवटै तहका सरकारले साझेदारी गर्न यसअघि नै निर्देशन दिइसकेको छ।
यसअघि केन्द्रीय सरकार मातहत रहेको झोलुंगे पुल सहयोग इकाईमार्फत् तत्कालीन जिल्ला विकास समिति अन्तर्गत झोलुंग पुल निर्माण हुँदै आएकोमा तीनवटै तहका सरकारबीच स्रोत परिचालन साझेदारी, कार्यान्वयन सहकार्य एवं समन्वय भइरहेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म मुलुकका करीब ६ हजारभन्दा बढी ठूलासाना खोलानालामा अलगअलग स्थानमा रहेका बस्तीलाई जोड्ने ७ हजार ५ सयभन्दा बढी झोलुंगे पुल निर्माण भइसकेका छन्। तर, अझै नदी तर्ने प्रमुख घाटमा करीब हजार ४ सय झोलुंगे पुल निर्माण गर्नुपर्ने देखिन्छ।




प्रतिक्रिया