काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाललले प्रकाश दाहाललाई सम्झिँदै उनको प्रशंसा गरेका छन् । उनले प्रकाशको निधनले प्रचण्डको एक हात भाँचिएको पनि बताएका छन् ।
प्रकाश दाहालको ३८ औं जन्मजयन्तीका अवसरमा बोल्दै नेता नेपालले प्रकाशले सगरमाथा चढेर साहसीक काम गरेको बताउँदै जीवन संगिनीलाई साथमा लिएर सगरमाथा चढ्ने कुरा विशिष्ठ पक्ष भएको बताए ।
‘जीवन संगिनीलाई साथमा लिएर सगरमाथा चढ्ने कुरा विशिष्ठ पक्ष हो । प्रकाश प्रचण्ड कमरेडको दाहिने हात थिए । तर, उहाँको दाहिने हात नै भाँचियो । पार्टी सञ्चालनका विषयमा होस् चाहे सरकार सञ्चालनका विषयमा गर्ने सहयोगको कुरा होस् । सधैंभरी उहाँ(प्रचण्ड) प्रकाश–प्रकाश भन्नुहुन्थ्यो । र प्रकाशमा अरुमा गर्नुपर्ने व्यवहार साथै कुशलता पनि थियो । सबैमा कुशलता हुँदैन ।’
उनले भने, ‘प्रकाशमा बेग्लै खुबी थियो । उनीसँग बन्दुक चलाउनेदेखि लिएर टेक्नोलोजी र व्यवस्थापनको पक्षमा राम्रो खुबी थियो । मैले बन्दुक त होइन खुकुरी मात्र उठाएको थिएँ । एउटा घाँटी छिनाल्न गएको पनि थिएँ । तर, सकिएन । तर, यसरी बन्दुकको तालिम लिएको थिइनँ । यी खुबी मात्र प्रकाशको परिचय रहेन । सगमाथा आरोहण गर्ने र अरुलाई उत्प्रेरित गर्ने । यस्ता व्यक्तिहरु, युवाहरु उत्प्रेरित भइरहेका छन् ।’
नेता नेपालले यसरी प्रकाशलाई सम्झिरहँदा पत्नी विना मगर भने भावुक भएकी थिइन् ।




प्रतिक्रिया