काठमाडौं – नेकपा सचिवालय बैठक आइतबार (आज) बस्दै छ। पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल गरेका छन् ।
बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए । बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुने छ ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको छ । भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बसेको पूर्व माओवादी निकट स्रोतले भन्यो ।
पूर्वमाओवादीले पाएका विभागहरुमध्ये अर्थ र प्रचारको जिम्मेवारी कुन नेताले पाउने भन्ने चासो छ । पार्टीको प्रवक्तासमेत भएकाले प्रचारको जिम्मा नारायणकाजी श्रेष्ठले पाउन सक्ने चर्चा छ । यसअघि पूर्व एमालेका नेताहरु पनि अलग्गै बैठक बसेर जिम्मेवारीबारे छलफल गरेका थिए ।




प्रतिक्रिया