एड्भान्स सिमेन्टको बदमासी, दाङमा आइईइ गरेर तनहुँकाे आँबुखैरेनीमा उद्योग सञ्चालन


चित्रबहादुर गुरुङ्

तनहुँ– आँबुखैरेनी गाँउपालिका वार्ड नं. २ खानीखोलामा रहेको एड्भान्स सिमेन्टका उत्पादक अरनिको आँबुखैरेनी सिमेन्ट ईन्डस्ट्रिज प्रा. लि. ले दाङको सतवरियामा सिमेन्ट उद्योग सञ्चालन गर्ने भनी वातावरणीय प्रभाव मुल्याङ्कन गरी आँबुखैरेनीमा उद्योग सञ्चालन गरेर बदमासी गरेको पाईएको छ ।

आईतबार जनसंख्या तथा वातावरण मन्त्रालयले यो कुराको सुईको पाएपछि ५० हजार जरिवाना गरिनुका साथै चाडो भन्दा चाडो उद्योग रहेको स्थान आँबुखैरेनीमा वातावरणीय प्रभाव मुल्याङ्कन गर्न निर्देशन दिएको छ । झण्डै ३ दशक देखि सञ्चालनमा आएको यो सिमेन्ट उद्योग पटक पटक विवादमा फस्दै नाम परिवर्तन गर्दै सञ्चालनमा आएको थियो ।

पछिल्लो समय यो उद्योग अरनिको ग्रुप अन्तर्गत अरनिको आँबुखैरेनी सिमेन्ट ईन्डष्ट्रिज प्रा. लि. को नामबाट सञ्चालनमा छ । पृथ्वी राजमार्गको मुख्य भागमा नै रहेको यो उद्योगले उद्योगबाट निस्कने धुलो नियन्त्रणको लागि कुनै प्रयास गरेको देखिदैन । उद्योग सञ्चालन हुदाँ धुलो धेरै निस्कने हुदाँ नियन्त्रण गर्न जरुरी देखिएको छ । यस विषयमा उद्योगसँग जानकारी लिन खोज्दा सबैकुरा कम्पनीको प्रधान कार्यालयलाई थाहा हुने भन्दै उद्योग स्थलका प्रमुख विरेन्द्र सिंहले जवाफ दिन ईन्कार गरेका छन् ।

तर यति लामो समयसम्म उद्योगले वातावरणिय प्रभाव मुल्याङ्कन बिना उद्योग सञ्चालन गरिरहेको भएपनि गाँउपालिकाले भने त्यसको सुईको समेत नपाएको देखिएको छ । आईतबार सञ्चार माध्ययमा यो विषयमा समाचार आएपछि गाँउ कार्यपालिकाले चासो बढाउदै उद्योगलाई ३ दिन भित्र सम्पूर्ण कागजपत्र सहित गाउँ कार्यपालिकामा सम्पर्क गर्न सोमबार पत्राचार गरेको आँबुखैरेनी गाँउपालिकाका प्रशासकिय अधिकृत दुर्गा थापाले बताए ।

स्थानीयद्वारा विरोध
यता सिमेन्ट उत्पादन स्थलमा रहेको स्थानीयवासीले उद्योगले फ्याक्ने धुलोले वातावरणमा असर पारेको भन्दै विरोध गरी सो को व्यवस्थापन गर्न स्थानीय वडा कार्यपालिकामा १ महिना अघि निवेदन नै दिएको भेटिएको छ । स्थानीयले वडाकार्यपालिकामा उद्योगको धुलो नियन्त्रका लागि स्थानीयबासीन्दाले निवेदन दिएपछि सोको बारेमा बुभ्न वडा कार्यपालिकाले गाँउपालिकालाई बोधार्थ दिदै उद्योगलाई पत्र पठाएपनि उद्योगले कुनै जवाफ नदिइएको वडा कार्यपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement