काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस मनाइएको छ । मंगलबार पुष्पलालको ४१औं स्मृति दिवसका अवसरमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितले पुष्पलालप्रति श्रद्धासुमन अर्पण गरे।
दिवसका अवसरमा मंगलबार पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले विभाजित पार्टीलाई एकीकृत गर्नुपर्छ भन्ने पुष्पलालको भनाई स्मरण गर्दै पुष्पलालले लिएको समाजवादतर्फको यात्रा आफूहरुले पूरा गर्ने जिम्मेवारी थपिएको बताए ।
‘हामी पुष्पलालकै उत्तराधिकारी हौँ, सन्तति हौँ’ प्रचण्डले भने । कम्युनिष्टहरुका बारेमा पहिलेदेखिनै भ्रम छरिएको भन्दै प्रतिकृयावादीले छरेको त्यो भ्रम चिर्दै पार्टी एकता सम्भव भएकाले अब एकता हुनै सक्दैन भन्नेहरुलाई जवाफ दिनुपर्ने बताए । कीर्तिपुरको चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा नेकपा अध्यक्ष प्रचण्डसहित, नेताहरु माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।
नेपाली क्रान्ति सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लडे। विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागे। उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे। पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन्।
नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पुष्पलालले २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा भएको थियो ।




प्रतिक्रिया