छानबिन समितिको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

छानबिन समितिको कार्यशैलीप्रति प्रधानमन्त्री ओली असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैली उपयुक्त नभएको बताएका छन्।

प्रतिष्ठानको तेस्रो सभा बैठकलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिति गठन गरेको थियो । समितिको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको थियो।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताए।

‘समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ, प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो प्रतिवेदन हो कि राजनीति हो ? समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताए। ‘प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु,’ ओलीले भने।