काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले
बाढीपहिरो प्रभावितलाई सरकारले सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले राहत, उद्धार गर्ने पहिलो दायित्व राज्यको भएको स्मरण गराउँदै तराई–मधेसका बाढीपीडितलाई राज्य पक्षले कुनै पनि सहयोग नगरेको आरोप लगाए ।
उनले भने, “घरबारविहिनलाई बास, खाद्यान्न, लत्ताकपडा दिने पहिलो कर्तव्य सरकारको हो । तर, बाढीपीडितले केही पाएका छैनन,” सभापति देउवाले भने, “रेडक्रस र एनजीओहरुले केही सहयोग गरेका छन् । यो सरकारले केही दिएको छैन ।”
त्यस्तै देउवाले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि एक अर्कालाई दोष नदिई भारतसँग कूटनीतिक तवरमा छलफल गर्नुपर्ने पनि बताएका छन् ।
उनले भने, “भारतसँग कुरा गर्नुपर्छ । भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने काम हुँदै आएको छ । एकले अर्कालाई दोष दिएर कति दिनसम्म पुग्छ ? ।”




प्रतिक्रिया