काठमाडौं – ललिता निवास जग्गा प्रकरणका एक आरोपीले आत्महत्या गरेपछि कांग्रेस र नेकपा सांसदबीच संसदमा जुहारी चलेको छ ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेको भन्दै छानबिन गर्न माग गरेपछि नेकपा सांसद झपट रावलले दिनमा १० जना भ्रष्टाचारी मरेको खबर सुन्न पाइयोस् भन्दै कडा अभिव्यक्ति दिएका हुन् ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको हत्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले फरक भनाइ राखेका हुन् ।
कँडेलको भनाइको जवाफ दिँदै सांसद रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताए ।
‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्न पाइयोस ।’




प्रतिक्रिया