काठमाडौं – सर्लाहीमा भएका दुई गोलीकाण्डको छानबिनलाई मुख्य एजेण्डा बनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदमा अवरोध गरपछि संसद बैठक स्थगित भएको छ ।
बिहान ११ बजे सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्ने बित्तिकै कांग्रेस र राजपा सांसदहरुले सिटबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।
उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका थिए । दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे । उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । तर कांग्रेस र राजपा सांसदले नारा लगाउँदै बेल घेराउ गरेपछि सभामुख महराले भोली २ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेलगायतका माग राखेको छ । राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागमा सोमबारदेखि कांग्रेसले पनि सहमति जनाएपछि संसदमा मोर्चाबन्दी भएको हो ।




प्रतिक्रिया