गन्तव्य बिर्सिएको कांंग्रेस रनभुल्ल, महाधिवेशन गर्ने र सार्नेबीच रस्साकस्सी

गन्तव्य बिर्सिएको कांंग्रेस रनभुल्ल, महाधिवेशन गर्ने र सार्नेबीच रस्साकस्सी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकतान्त्रिक पार्टीमा महाधिवेशन तोकिएकै समयमा हुने र नेतृत्व चयन गर्ने परिपाटी सामान्यजस्तै हो । तर कांग्रेस पुरानो लोकतान्त्रिक पार्टी भनिएपनि महाधिवेशन गर्ने र सार्ने रस्साकस्सीमा रुमल्लिएको छ ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा जबर्जस्त रुपमा उठेको छ । बैठकमा संस्थापन पक्षले महाधिवेशन सारेर कार्यकाल लम्ब्याउन खोजेको र पौडेल–कोइराला पक्षले समयमै महाधिवेशन गराउन खोजेको सतहमै देखिएको छ ।

मुलुक संघीय संरचनामा गएर चुनाव समेत भइसकेको अवस्थामा समेत कांग्रेसको पार्टीगत संरचना विकेन्द्रीत भएको छैन । प्रदेश समिति, स्थानीय तह र वडामा नयाँ संरचना अनुसार समिति बनेका छैनन् । कांग्रेस पुरानै संरचनामा रुमल्लिएको छ भने महाधिवेशनको गन्तव्य समेत पहिल्याउन सकेको छैन ।

केन्द्रीय समितिमा महाधिवेशन विवाद
पार्टी विधान अनुसार चार वर्षे कार्यकाल पूरा हुने बेला कांग्रेसको आगामी महाधिवेशन फागुन आसपास गर्नुपर्ने हो । तर सभापति शेरबहादुर देउवा लगायत संस्थागत पक्ष अनेक बहानाबाजी गर्दै महाधिवेशन लम्ब्याउन खोजिरहेको छ । संघीय संरचना अनुसार बनाइनुपर्ने पार्टीका अन्तरिम संरचना र तयारीलाई देखाउँदै महाधिवेशनमा ढिलाइ गर्न खेल भइरहेको छ ।

संस्थागत स्तरका समूहले भने समयमै महाधिवेशन गर्नुपर्ने माग राखेका छन् । पार्टीका अन्य कामभन्दा पनि महाधिवेशनमा केन्द्रित हुनुपर्र्ने संस्थागतइतरको माग छ । केन्द्रीय समिति बैठकमा महाधिवेशन र पार्टीको अन्तरिम संरचना प्रवेश गरेपछि बैठक नै लम्बिने अवस्था आएको छ ।

मंगलबार केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले पार्टीको अन्तरिम संरचना र १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर आ–आफ्नो धारणा राखेका छन् । यसअघिका बैठकमा समेत महाधिवेशन मुख्य एजेन्डा बनेको थियो । गत असार २२ गतेदेखि शुरू भएको बैठकमा मंगलबार रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले बोलेका थिए । बैठक आज बुधबार दिउँसो ३ बजे पुनः बस्दैछ ।

महाधिवेशनको कार्यतालिका मुख्य विवाद
महाधिवेशन गर्ने विषयमा कांग्रेसका दुवै पक्ष एकमत छन् तर बहानाबाजी गरेर महाधिवेशन केही ढिला गर्ने कि यथाशीघ्र गर्ने भन्नेमा मुख्य विवाद देखिएको छ । महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिबाट तय गर्ने गरी बैठकमा बहस भइरहेको छ । सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका अन्तरिम संरचना सहमतिमा बनाउने प्रस्ताव बैठकमा राखेका छन् । अन्तरिम संरचना नबनाइ पार्टीको १४ औं महाधिवेशन गर्न सकिने अवस्था छैन ।

उनले विधानअनुसार चुनावी प्रक्रियामा जाने हो भने एक वर्ष म्याद थप्दा पनि महाधिवेशन गर्न गाह्रो हुने भन्दै जटिलता देखाए । तत्कालीन गाउँ कमिटीका सबैलाई स्थानीय तहको कमिटीमा राख्ने र भूगोल, वरिष्ठता लगायतका निश्चित मापदण्डका आधारमा संयोजक छनोट गर्ने प्रस्ताव उनले बैठकमा राखेका छन् ।

प्रदेश कमिटी गठनका लागि भने चुनाव नै गर्ने महतको प्रस्ताव छ । ‘यसो गरियो भने आगामी भदौभित्र अन्तरिम संरचना बनाउन सकिन्छ,’ महतले भने, ‘त्यसपछि ६ महिना क्रियाशील सदस्यता वितरण तथा नविकरण गर्ने र अर्को ६ महिनामा अधिवेशन गर्न सक्छौं ।’

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महतको प्रस्ताव सकारात्मक भएपनि महाधिवेशनको कार्यतालिकाबारे चासो राखेका थिए । केही दिनअघि संस्थागतइतरका नेताले प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक गरेका थिए । महाधिवेशनमा ढिलाइ गर्दै म्याद थपको कुरा आउँदा रामचन्द्र पौडेल, शेखर कोइराला र कृष्ण सिटौला समूहले डेढ वर्ष म्याद थपेर देउवाले पदमा बसिरहन खोजेको आशंका गरेका छन् ।

लोकतान्त्रिक पार्टी मानिने कांग्रेसमा महाधिवेशन गर्ने विषय नै महाभारत हुनुले कांग्रेस नेतृत्वको गैरलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ । देशको लोकतन्त्र जोगाउने प्रचारबाजीमा लागेको कांग्रेसले पार्टीको आन्तरिक लोकतन्त्रलाई जोगाउनुपर्ने बेला आएको छ ।