सरकारसँग वार्ताकाे प्रयास गर्दागर्दै पक्राउ परेँ : विप्लव पोलिटब्युरो सदस्य कार्की

सरकारसँग वार्ताकाे प्रयास गर्दागर्दै पक्राउ परेँ : विप्लव पोलिटब्युरो सदस्य कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका विप्लव समुहका नेता मोहन कार्की (जीवन्त)ले आफुहरुको नीति छापामार युद्ध नभएको खुलाएका छन् । उनले केहि नेताहरुमा भ्रम परेकोले देश नै युद्धतिर जाने स्थिति भएको भन्दै पार्टी सच्चिनुको विकल्प नरहेको खुलाएका छन् ।

पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको जिकिर गर्दै उनले भने ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदूर, मध्यमवर्ग र राष्ट्रिय पूँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो, कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नुभएको छ ।’

नेता कार्कीले देशमा द्वन्द्व हुँदा कसैलाई फाइदा नपुग्ने भन्दै अविलम्ब वार्ताबाट समाधान खोज्नुको विकल्प नरहेको खुलाएका हुन् । महानगरीय प्रहरी परिसर टेकुमा सञ्चारकर्मीसँग कुरा गर्दै पोलिटव्युरो सदस्य कार्कीले भने, ‘देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्छ ।’

वार्ताका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत प्रयास गर्दैगर्दा पक्राउ परेको बताए ।

नेता कार्कीले आफूले पार्टीका महासचिव विप्लवलाई समेत पार्टीमा केही कुराहरु सच्याउन र कार्यदिशाअनुसार अगाडि बढ्न सुझाव दिएको बताए । उनले शहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने तथा राष्ट्रिय जागरण फैलाउने अभियान गर्नुपर्ने सुझाव दिएको कार्कीले खुलाएका छन् ।

विप्लव समुहका नेता कार्की गत चैत्र १ मा ललितपुरबाट पक्राउ परेका थिए । उनि हाल महानगरीय प्रहरी परिसर टेकुमा प्रहरी नियन्त्रणमा छन् । रासस