‘रअ’ प्रमुखपछि भाजपा नेता काठमाडौंमा : मन्त्री निवासदेखि ठूल्ठूला होटलसम्म गोप्य भेट

‘रअ’ प्रमुखपछि भाजपा नेता काठमाडौंमा : मन्त्री निवासदेखि ठूल्ठूला होटलसम्म गोप्य भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएर उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको चर्चा सेलाउन नपाउंदै भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवाला काठमाडौं आएर राजनीतिक भेटघाटमा  सक्रिय भएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा दोस्रो कार्यकाल सम्हालेपछि काठमाडौंमा केही हप्तायता भारतीय नेता र प्रशासकको सक्रियता अस्वाभाविक बढेको देखिएको छ । हाल काठमाडौंमा रहेका प्रमुख चौथाइवालाले महत्वपूर्ण राजनीतिक भेटवार्ता गरिरहेका छन् । उनि नेपाल भारत मैत्रि समाजले आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएका थिए ।

प्रधानमन्त्री मोदी निकट विश्वासपात्र मानिएका प्रमुख चौथाइवाला काठमाडौंमै रहेका बेला भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउने खबर समेत बाहिरिएको छ । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारीका लागि प्रमुख चौथाइवाला नेपाल आएका र भ्रमणकै तयारीका लागि विदेशमन्त्री जयशंकर नेपाल आउने चर्चा राजनीतिक वृत्तमा चलेको छ । 

भेटवार्ता कहां–कहां ?

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौंमा विभिन्न राजनीतिक दलका नेतालाई भेटघाट गरिरहेका छन् । उनले शुक्रबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठ पुगेर भेटेका छन् । त्यसपछि सोल्टी होटलमा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई भेटेर होटल हिमालय होटलको एउटा कार्यक्रममा सहभागी भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेका छन् । 

शुक्रबार बिहान प्रमुख चौथाइवालाले प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलसहित मधेशवादी दलका नेतासँग भेटवार्ता गरेका थिए ।

प्रमुख चौथाइवालासहित नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले परराष्ट्र मामिला जानकार भेषबहादुर थापा, राप्रपा संयुक्तका प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता दमननाथ ढुंगानाबीच कालिमाटीस्थित होटल सोल्टीमा गोप्य भेला भएको स्रोतले जनाएको छ ।

काठमाडौंमा ठूल्ठूलो होटलमा मात्रै नभई विजेपी विदेश विभाग प्रमुख चौथाइवाला ललितपुरको पुल्चोकस्थित मन्त्री निवास क्षेत्रमा समेत प्रवेश गरेका छन् । उनले शुक्रवार दिउंसो २ बजेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसंग आफ्नै सरकारी निवासमा भेटवार्ता गरेका छन् । 

भारतीय तरकारी नेपाल आयात गर्दा विषादी परीक्षण गराउने निर्णय कार्यान्वयनमा लैजाने क्रममा मन्त्री यादव विवादमा परेका थिए । विषादी परीक्षणको निर्णय भारतीय दबाबपछि फिर्ता भएको चर्चा चलेको थियो ।

बिहीबार होटल अन्नपूर्णमा नेपाली कांंग्रेसका नेता शशांक कोइराला, सुजाता कोइराला, मिनेन्द्र रिजाल, चित्रलेखा यादव लगायतसंग समेत उनले भेटवार्ता गरेका थिए ।  प्रमुख चौथाइवालाले शुक्रबार अपराह्न ठमेल पुगेर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसंग भेट गरेका छन् ।

भारतीय संस्थापनका महत्वपूर्ण मानिने नेताहरू निरन्तर काठमाडौं आएर भेटवार्तामा सक्रिय हुन थालेपछि राजनीतिक वृत्त तरङ्गित भएको छ । प्रधानमन्त्री मोदीले दोस्रो कार्यकाल सम्हालेपछि नेपाली राजनीतिमा प्रभाव पर्न सक्ने अनुमान गरिएका थिए । मधेश केन्द्रित दलले संविधान संशोधनको माग गरिरहेको र धर्मनिरपेक्षता लगायत कतिपय संविधानका कुरा भारतले नरुचाएको अवस्थामा भारतीय संस्थापन काठमाडौंमा सक्रिय भएको छ । 

चौथाइवाला विजेपीका प्रभावशाली नेता मात्र होईनन्  प्रधानमन्त्री नरेन्द्र मोदीका भित्रिया समेत हुन् । मोदीले नै उनलाई विदेश विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् । उनको भारतको विदेश निती संचालनमा महत्वपूर्ण भुमिका रहेको बताइन्छ । चौथाईवालाको नेपाल  भ्रमणलाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।