काठमाडौं – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाढीपहिरो पीडितका लागि उर्जा मन्त्रालयले गरेको कामबारे सदनलाई जानकारी गराएका छन् ।
बिहिबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मन्त्री पुनले उर्जा मन्त्रालयले क्षति भएका संरचनाहरु तत्काल निर्माण गर्ने र आपतकालिन व्यवस्थापनको काम गरिरहेको जानकारी दिए ।
उनले त्यसका लागि प्रदेशको डिभिजन कार्यालय मार्फत १० करोड आकस्मिक रकम विनियोजन गरेको जानकारी दिए । स्थलगत निरीक्षणपछि संरचना निर्माणका लागि थप ५ करोड प्रधानमन्त्री राहत तथा दैवी उद्धार कोषमार्फत जिल्ला पठाएको मन्त्री पुनले जानकारी दिए ।
त्यस्तै मन्त्री पुनले श्री ५ महाराज ३ को संज्ञा दिने जुम्लाका सांसदलाई कडा जवाफ दिएका छन् । उनले जुम्लामा विद्युतको बैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी दिए ।
‘जुम्लामा विद्युत् आपुर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भए लगत्तै वैकल्पिक प्रयास सुरु गरेको छु, उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको मस्र्याङदी जलविद्युत् केन्द्रमा रहेको ३ सय केविए क्षमताको डिजेल जेनेरेटर पठाउने गरि आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएका छौं ।’
मन्त्री पुनले कर्णालीका सम्पुर्ण जिल्लाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गर्ने योजना सरकारले अघि बढाएको बताए। जुम्लामा ३३ केबी प्रशारण लाइनका लागि यसै वर्ष दैलेख जुम्ला ट्रान्समिसन लाइनका लागि टेन्डर भएर छनौट पनि भइसकेको भन्दै उनले २ वर्षभित्र प्रशारण लाइन बनिसक्ने बताए। साथै उनले यसै बर्षको बजेटमा कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नम्बर २ को पुर्व विद्युतीकरणको लागि बजेटको व्यवस्था गरिएको पनि उनले जानकारी गराए।
मन्त्री पुनले आफुले सूरु गरेको हटलाइन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लान्ट बिग्रेको जानकारी पाएको भन्दैसांसद महतले आफूसंग भेट्न गरेको प्रयासबारे जानकार नभएको स्पष्ट पारे।
‘आवेगमा नआई सामान्य ढंगले समस्याको ध्यानआकर्षण गराउदा उपयुक्त हुन्थ्यो, हामीले त्यहाको समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने कोशिस गरिरहेका छौ ।’मन्त्री पुनले भने ।




प्रतिक्रिया