काठमाडाैं – गत वर्ष मदनमणि दीक्षितको ९७औं जन्मोत्सवका अवसरमा सम्मान समारोह आयोजना गरिएको थियो। कार्यक्रममा म पनि पुगेको थिएँ। उहाँसँग प्रत्यक्ष भेट भयो। लामो समयपछि मलाई देख्दा सायद उहाँ पनि अल्मलिनुभयो होला। भन्नुभो, ‘तिम्रो त कपाल निकै फुलेछ नि ? ’
मैले हाँस्दै भनें, ‘माड्साब म कहिल्यै कालो लाउँदिनँ।’ यो नै उहासँग गरिएको प्रत्यक्ष संवादको अन्तिम किस्सा बन्यो। मदनमणि दीक्षितलाई मैले २००९ सालतिर वीरगन्जमै चिनेको हुँ। उहाँ त्रिजुद्ध हाइस्कुल वीरगन्जको प्रधानाध्यापकका रूपमा वीरगन्ज जानुभएको थियो। म केटकेटी नै थिएँ। हातभरि किताब बोकेर हिँड्ने, दौरासुरुवाल र काँधमा गम्छा भिरेर हिँड्ने, अग्लो कदको शालीन व्यक्तित्व मेरो पहिलो नजरको मदनमणि दीक्षित।
विषयवस्तुमा दक्ष र कुशल शिक्षक मदनमणिले वीरगन्जमा छोटो समयमै चर्चा कमाउनुभएको थियो। सबैले उहाँलाई माड्साबका रूपमा सम्मान गर्थे। हाम्रो घर वीरगन्जको कुमारी टोलमा थियो। उहाँहरू पछि डेरा सरेर हाम्रै टोलमा आउनुभयो। त्यसपछि भने हामी पारिवारिक रूपमै जोडियौँ। अहिलेसम्म प्रत्यक्ष रूपमा संगत गर्ने मौका पाएँ। हरेक घरायसी कार्यमा हामी सँगै हुन्थ्यांै।
उहाँका जेठा छोरा विनोद दीक्षित मेरा मिल्ने साथी हुन्। पारिवारिक रूपमै हामी कहिले वीरगन्जकै कृति सिनेमा हलमा फिल्म हेर्न त कहिले रक्सौलसम्म हिन्दी चलचित्र हेर्न जान्थ्यौं। म र माड्साब बेलाबेलामा चेस पनि खेल्थ्यौं। वीरगन्जमा पढाउन छाडेर उहाँ काठमाडांै फर्किएपछि पत्रकारितामा सक्रिय हुनुभयो। पढ्न र लेख्न अत्यन्तैे रुचि राख्ने दीक्षित पूर्वीय–पाश्चात्य दर्शनका ज्ञाता हुनुहुन्थ्यो। एक शिष्ट र उत्कृष्ट लेखकका रूपमा उहाँ मेरो मनमा रहिरहनुहुनेछ।
वामपन्थी विचारधारा अँगाल्ने मदनमणि पञ्चायतकालमा सदैव शासकको आँखामा परिरहनुहुनथ्यो। आफ्नै सम्पादनमा उहाँले ‘समीक्षा’ साप्ताहिक पत्रिका निकाल्नुहुन्थ्यो। उक्त पत्रिकामा मैले लामो समयसम्म लेखें। मेरो अखबारी लेखनको पहिलो गुरुको श्रेय मदनमणिलाई जान्छ। उहाँले सबैलाई पुस्तक पढ्न हौसला दिनुहुन्थ्यो।
आफ्ना पुस्तक बाँडेर पढ्ने आदत थियो उहाँको। नयाँ पुस्तालाई सदैव प्रोत्साहन गर्नुहुन्थ्यो। सरकारले समीक्षा साप्ताहिकमाथि प्रतिबन्ध लगायो। त्यसपछि नै हो उहाँले माधवी उपन्यास लेख्नुभएको। उहाँले पूर्वीय कालखण्डको खास समयलाई लिएर माधवी उपन्यास लेख्नुभएको छ। याे खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया