काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताएका छन् । आइतबार बिहान प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केही मानिसहरूले पद जाने भयो भनेर अहिले प्रधानमन्त्री लगालग काँपिरहेको सपना देखिरहेको बताए। ‘पद नगएको मैले कोही देखेको छैन। राजा, महाराजा, बादशाह सबैको पद जान्छ। आगामी निर्वाचनपछि मेरो पनि पद जान्छ त्यतिन्जेल धैर्य गर्न साथीहरूलाई आग्रह गर्छु’ प्रधानमन्त्री ओलीले भने,‘अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो।’
यसअघि शनिबार पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कुर्सी जाने डरले प्रधानमन्त्री थरर काँपिरहेको बताएका थिए। प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे । उनले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले खुलेआम गतिविधि गरिरहेका छन् ।
यो सरकार अचानक ह्वीम र जनताको फ्रस्टेशनबाट बनेको सरकार होइन, यसको संघर्ष र बलिदानको इतिहास छ । आवेग, उत्तेजना र फ्रस्टेशनबाट सरकार बनेको होइन । जनताको जनादेशबाट यो सरकार गठन भएको हो,’ प्रधानमन्त्रीको भनाई छ । विकास निर्माण र आर्थिक बृद्धि दर बढेको भन्दै उनले तैपनि केही भएन भन्नेहरुलाई केही भन्न नसक्ने बताए ।
सरकारको लोकतन्त्रप्रतिको निष्ठाका सम्बन्धमा अनावाश्यक भ्रम र हल्ला फैलाउने काम भएपनि त्यो सफल हुन सक्ने प्रधानमन्त्री ओलीले बताए ।‘यो हाम्रा विरोधीले चलाएको हल्ला हो । जनतामा निराशा, फ्रस्टेशन, र विश्वास टुटाउने योजनाका साथ यस्तो हल्ला चलाइएको छ तर यस्ता हल्ला चलाएर लोकतन्त्रमाथिको सरकारको दृढता टुट्दैन,’ प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकारले ७ प्रतिशत आर्थिक बृद्धिदरको सफलता हासिल गरेको भन्दै सरकारको लोपप्रीयताबाट बिरोधीहरु अत्तालिएको उल्लेख गरे । उनले विगतमा संसदीय अभ्यासमा केही त्रुटिहरु भएका कारण आफूले बोल्न नपाएको बताउदै उनले हामीले लडेर ल्याएको लोकतन्त्रको संसदमा राम्रो अभ्यास भएको समेत बताए
उनले मेलम्ची आयोजनाको ठेकेदार भागेपनि सरकार नभागेकोले आयोजनाको काम नरोकिने बताए । उनले भने–‘एउटा मेलम्चीको ठेकेदार भाग्यो त । यस्तो कुरा कहिलेकाहीँ हुन्छ, सरकार भागेको त हैन नी । केही ढिलो होला हामी मेलम्चीको पानी ल्याउछौँ ।’




प्रतिक्रिया