काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफु उपचारका लागि सिंगापुर जान लागेको बताउँदै संविधान खुशीको चाड भएको बताउँदै सम्पूर्ण नेपालीलाई पोलपोलमा राष्ट्रिय झण्डा र घरघरमा दिपावली गरेर संविधान दिवस मनाउन आग्रह गरेका छन् ।
उनले बिजुली नपुगेको ठाउँमा पहिलैदेखि लियो बालेर सविधान दिवस मनाउने गरेको र अहिलेपनि सोही अनुसार संविधान दिवस मनाउन सकिने बताए । ‘बिजुली नपुगेका ठाउँमा पनि हामी उहिलेदेखि दीपावली गरी आएका हौं दीयोमा बत्ती बालेर । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ’ उनले भने ।
सरकारले पनि संविधान दिवस व्यापकरुपमा मनाउने भन्दै तयारी सुरु गरेको छ । विशेष गरेर संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरुको सहभागीतामा राजधानी काठमाडौको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरुमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरु तय भएका छन् ।
यस वर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ । असोज ३ गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डासहितको ¥याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल जाने कार्यक्रम तय भएको छ ।
प्रदेश र स्थानीय तहको सवालमा सम्बन्धित मन्त्रालयले संयोजन गरि तोकिएको स्थानमा अनिवार्य उपस्थिति हुने व्यवस्था मिलाइएको छ । बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउँदै गृह सचिव प्रेमकुमार राईले सबैको सक्रिय सहभागिताका लागि आग्रह गरे ।
असोज २ गते उपत्यका भित्रका सबै सरकारी कार्यालय, महानगरपालिका नगरपालिकाहरुले आ–आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगर सजाउने, आम नागरिकले घरघरमा सरसफाई गरि सांझ दीपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ ।




प्रतिक्रिया