चितवनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण, एक जनाको मृत्यु

चितवनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण, एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच एक जनाको ज्यानसमेत गएको छ । दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का गरिएको छ । यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि एक हजार १५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा सङ्क्रमण भेटिएका हुन् ।

जिल्लाका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।

यी अस्पतालमा आएका ज्वरोका बिरामीहरूबाट लिइएको नमूनामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जिल्लामा हरेक तीन–तीन वर्षमा डेङ्गुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी सङ्ख्यामा पाइने गरेको छ । डब्बाहरू, एयर कन्डिसन, एयर कुलर, ड्रमहरू, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फूल पार्ने गर्दछ ।

डेङ्गुको सङ्क्रमणको मुख्य लक्षण ज्वरो आउने रहेको भन्दै उनले सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गरेका छन् ।

यसैगरी वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने लक्षण देखा पर्ने गरेको उनले जानकारी दिए ।