काठमाडौं – ह्याकरले बैंकिङ सिस्टम ह्याक गरेर कृषि विकास बैंकको पैसा कैलाश विकास बैंकबाट निकालेको खुलासा भएको छ । कृषि विकास बैंकबाट चोरी भएको रकममध्ये १० लाख रुपैयाँ कैलाश विकास बैंकको कैलालीको भजनी र केही रकम मकवानपुरमा रहेको शाखाबाट समेत निकालेको पाइएको हो ।
बैंकको पैसा चोरी प्रकरण योजनाबद्ध रुपमा गरेको पाइएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । चोरी गर्ने गिरोहले सौराहा युजर आइडीमार्फत कृषि विकास बैंकको लहान शाखाको कम्प्युटर प्रयोग गरेर नुवाकोटबाट काठमाडौंमा पैसा ट्रान्सफर गरेर काठमाडौंबाट निकालेका थिए ।
कृषि विकास बैंकबाट ठूलो मात्रामा रकम ट्रान्सफर भएपनि ५३ लाख निकालेको र त्यसमध्ये ३३ लाख बरामत भएको छ । अन्य रकम ट्रान्सफर गरिएका बैंकबाट निकाल्न पाएका थिएनन् । प्रहरीले चोरीमा संलग्न सुजन कार्की, लक्ष्मी तामाङ, निर्मला तामाङ, निमा तामाङ, सञ्जय घले, विद्या सागर, लेमान तामाङ, पुष्पराज खड्का, मानबहादुर बूढालगायतलाई काठमाडौंको कीर्तिपुर, सिरहा, धादिङ र कैलालीबाट उनीहरुलाई पक्राउ गरेको हो ।




प्रतिक्रिया