काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले चीन र नेपालको मित्रतालाई थप उचाईमा पुर्याउने बताएका छन् ।
सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा आयोजना गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए ।
‘कतिपय मानिसहरुले चिनियाँ राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के–के सपिङ लिस्ट छ ? भनि प्रश्न गरे । त्यसबेला हामीले परिवर्तित सन्दर्भमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौ । त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो नेपाल चीनबीचको मित्रतालाई हामी धेरै माथि पुर्याउन चाहन्छौ’ उनले भने ।
उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए । राष्ट्रपति सीले नेपाल भ्रमणको क्रममा नेपाललाई भू– परिवेष्ठितबाट भू–जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले अब नेपालले भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।
उनले चीन र नेपाल दुबै देशमा कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा नेपाल सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताए ।




प्रतिक्रिया