नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई अर्थमन्त्री खतिवडाको आग्रह
काठमाडाैं। अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघको मंगलबारदेखि काठमाडाैंमा सुरु भएको नवौँ विश्व सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन दिए ।
उनले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्व लगानीको अपेक्षा गरिएको पनि बताए ।
अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यकतामा सरकारले जोड दिएको पनि स्पष्ट पारे । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंशा पनि गरे ।