तालिम केन्द्रभित्रै सईद्धारा प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

तालिम केन्द्रभित्रै सईद्धारा प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज – कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) मा तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा प्रहरीकै एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्।

नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई हिजो सोमबार नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो।

जिल्ला प्रहरी कार्यालय बाँके स्रोतका अनुसार पक्राउ परेका सई रानालाई थप अनुसन्धानको लागि जबर्जस्ति करणी मुद्दामा बाँके जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरिएको छ।

यद्यपि कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक मसाउद आलम खाँ र बाँके प्रहरी प्रमुख एसपी बिरबहादुर ओलीले ति महिला प्रशिक्षार्थीका आमाबुबालाई समेत बोलाएर मिलापत्र गर्न दवाब दिएको स्रोतले बतायो।

तालिम केन्द्रभित्रको उक्त बलात्कार काण्ड गुपचुप राख्ने र मिलापत्र गराउने एसएसपी खाँ र एसपी ओलीको दुस्प्रयास कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीको निर्देशनपश्चात् असफल भएको स्रोतको भनाइ छ। घटनाको बिषयमा थाहा पाउनेबित्तिकै डिआईजी जोशीले तालिमकेन्द्रको कार्यक्षेत्र पर्ने जिल्ला प्रहरी कार्यालय बाँकेलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएको बुझिएको छ।