नेपाल प्रहरीलाई एआईजी पुष्कर कार्कीले दिए धन्यबाद

नेपाल प्रहरीलाई एआईजी पुष्कर कार्कीले दिए धन्यबाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्कीले सबै प्रहरी कर्मचारीहरुको इमानदार प्रयासले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सुरक्षामा नेपाल प्रहरीले आफ्नो भूमिका सक्षमताका साथ प्रदर्शन गर्न सफल भएको बताएका छन् ।

बिहीबार पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले महामहिम राष्ट्रपतिको दुईदिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाई उत्कृष्ट रुपमा आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेकोमा महानगरीय प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई धन्यवाद समेत दिए ।

सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू एवम् चीन सरकारबाट समेत उच्च प्रशंसा भएको उल्लेख गर्दै कार्कीले इमानदारिता, पारदर्शीता, व्यवसायिकता र निष्ठायुक्त प्रयासबाट नै सुरक्षाको अत्यन्त प्रभावकारी व्यवस्थापन सम्भव भएको बताए ।

नेपाल प्रहरीको छविलाई थप उचाईमा र्पुयाउन जनआस्था र भरोसामा केन्द्रीत भई कार्य सम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई महानिरीक्षक कार्कीले निर्देशन समेत दिए । यस्ता विशिष्ट योगदान र कार्यबाट प्राप्त अनुभवलाई आगामी दिनमा अझै उत्कृष्ट तरीकाले प्रयोग गर्दै अगाडि बढ्नुपर्ने चर्चा गर्दै उनले सामूहिक तथा पारस्परिक सहयोगको भावनाले काम गरेमा सफलता हासिल गर्न सहज हुने तथ्य पुष्टि भएको विचार व्यक्त गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक तथा सरोकारवाला निकायसँग सहकार्य गरी नागरिकमैत्री सेवा प्रदान गर्न सहज भएको उल्लेख गर्दै उनले यस कार्यक्रमलाई थप सक्रियताका साथ अगाडि लैजानुपर्ने आवश्यकता रहेको बताए । साथै नजिकिंदै गरेका महान चाड शुभ दिपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिबिधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्नेमा उनले जोड दिए ।