सीआईबीमै अड्कियो ललिता निवासको छानबिन

सीआईबीमै अड्कियो ललिता निवासको छानबिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुईपटक गरी थपिएको चार महिनामा समेत अनुसन्धान नटुंगिएपछि सरकारले बिहीबार फेरि दुई महिना समय थपेको छ ।

०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललिता निवासले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हडप्नेमाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिएको थियो ।

जेठ २८ भित्र प्रतिवेदन पेस गर्न भनिएकामा असार १२ र भदौ २२ गते २र२ महिना समय थपिएको थियो । यो प्रकरणमा ब्युरोसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बिहीबार तेस्रोपटक २ महिना म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका छन् । थापाले पेस गरेको प्रस्तावमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को ०७५ फागुन २८ को निर्णयबमोजिम गठित सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाको हिनामिनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिन समितिको म्याद ०७६ असोज २८ देखि मंसिर २८ सम्म थप गर्ने ।’

गृहमन्त्रीको प्रस्तावअनुसार ब्युरोलाई छानबिन गर्न तेस्रोपटक म्याद बढाइएको जानकारी बिहीबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए । ब्युरोका एसएसपी रामदत्त जोशीले अनुसन्धानका केही पक्ष बाँकी भएकाले पुन: २ महिना समय थप गर्नुपरेको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।