काठमाडौं – असोज २ गतेको प्रतिनिधिसभा बैठकमा तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राति १२ बजेदेखि चालू अधिवेशन स्वतः अन्त्य हुने घोषणा गरेका थिए ।
सभामुख महराले संसद अधिवेशनको अन्त्य गर्दा उनी पदमुक्त हुने कसैले अनुमान गरेका थिएनन् । तर, संसद चालू नरहेको अवस्थामा सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिए । जसले गर्दा उनले सभामुख पदबाट राजीनामा दिनुप¥यो ।
संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा महरा हाल प्रहरी हिरासतमा छन् । प्रहरी हिरासतमा भएकाले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।
महराले राजीनामा दिएपछि प्रतिनिधि सभामा सभामुख पद रिक्त भएको छ । महराविरुद्ध मुद्दाको छानबिन र अदालत प्रक्रिया एउटा पाटो छ, अर्काे पाटोमा संसदमा सभामुख चयन प्रक्रिया समेत अगाडि बढाउनुपर्ने भएको छ ।
अधिवेशन विशेष कि नियमित ?
सभामुख निर्वाचनका लागि संसदको विशेष अधिवेशन आह्वान गर्ने कि नियमित अधिवेशनबाट सभामुख निर्वाचन गर्ने भन्ने विषयमा समेत राजनीतिक सहमति आवश्यक हुनेछ । यसका लागि राजनीतिक सहमति गरेर संसदको अधिवेशन आह्वान गरिनेछ । यसवर्ष कात्तिक १६ गते छठ पर्व परेकाले त्यसपछि मात्रै संसद अधिवेशन आह्वानका लागि छलफल हुनेछ ।
सामान्यतया मंसिर–पुसमा संसदको हिउँदे अधिवेशन आह्वान गर्ने गरिन्छ । गत वर्ष पुस ११ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । सभामुख चयन प्रक्रिया अगाडि बढाउनुपर्ने र संसदका अन्य महत्वपूर्ण काम गर्नुपर्ने भएकाले यसपालि त्यसअघि नै अधिवेशन आह्वान हुने स्रोतले जनाएको छ ।
संसदमा विचाराधीन विधेयकलाई प्रमाणीकरणमा पठाउनुपर्ने र केही अत्यावश्यक विधेयक छिट्टै पारित गर्नुपर्ने जिम्मेवारी समेत संसदसामु रहेको छ । सभामुख चयन अगाडि नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखलाई समेत राजीनामा गराउने चर्चा समेत चलेकाले संसदले सभामुख र उपसभामुख दुवै पदको निर्वाचन गर्नुपर्नेछ ।
नेकपाले सभामुख गुमाउने कि उपसभामुखलाई राजीनामा गराउने ?
संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै दल र लिङ्गको हुन नपाउने व्यवस्था छ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पदमा बहाल रहेकै अवस्थामा नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पाउने छैन । उपसभामुख शिवमायाले राजीनामा गरेपछि मात्रै नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउने छ ।
नेकपाले आफ्नो सभामुख बनाउन उपसभामुख शिवमायालाई राजीनामा गराउने नेकपा स्रोतले जनाएको छ । यसरी संसद एकैपल्ट सभामुख र उपसभामुखविहीन हुनेछ । यस्तो अवस्थामा संसदका ज्येष्ठ सदस्यले संसद बैठक सञ्चालन गर्ने व्यवस्था संविधानमा रहेको छ । सभामुख नेकपाले आफ्नो सांसदलाई बनाएपछि उपसभामुख सत्तारुढ दल समाजवादी पार्टी वा नेपाली कांग्रेस र राजपालाई दिनसक्ने सम्भावनाबारे समेत नेकपाभित्र चर्चा चल्ने गरेको छ ।
को–को छन् सभामुखको चर्चामा ?
सभामुख छान्ने संसदको औपचारिक प्रक्रियाको टुंगो नभएपनि सत्तारुढ नेकपाभित्र सभामुख छनौटका लागि अनौपचारिक छलफल सुरु भइसकेको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा सभामुख पूर्व माओवादीबाट कृष्णबहादुर महरा थिए । पार्टीभित्र शक्ति बाँडफाँडका क्रममा पूर्व माओवादीले पाएको सभामुख पदमा पुनः पूर्व माओवादी नेतालाई नै जिम्मेवारी दिनुपर्ने तर्क बलियो देखिएको छ ।
पूर्व एमालेको एउटा पक्ष समेत पूर्व माओवादीलाई नै सभामुख बनाउनेमा सहमतजस्तै छ । तर, उपसभामुख डा. शिवमायाले भने आफू नै सभामुख हुनुपर्ने आकांक्षा व्यक्त गरिरहेकी छन् । उनी पूर्व एमालेबाट निर्वाचित सांसद हुन् । पूर्व एमालेबाट यदाकदा चर्चामा आउने अर्काे नाम हो सुवासचन्द्र नेम्वाङ । तर नेम्वाङले आफू सभामुख बन्न इच्छुक नरहेको स्पष्ट पारेका छन् ।
पार्टीभित्रको शक्ति सन्तुलनका हिसाबले सभामुख पद पूर्व माओवादीकै पक्षमा पर्ने नेकपाको उच्च तहमा समझदारी रहेको स्रोतले जनाएको छ । पूर्व माओवादीभित्र सभामुखको अनुहारको खोजी चलिरहेको छ ।
पूर्व माओवादीभित्र ओनसरी घर्ती, देव गुरुङ, अग्नी सापकोटा, लेखराज भट्टको नाम चर्चा छ । पूर्व सभामुख समेत रहेकी घर्ती अनुभवी र महिला भएकाले उनको नाम प्राथमिकतामा देखिन्छ । नेकपाभित्र उपसभामुख महिलालाई राजीनामा गराएपछि महिलालाई नै सभामुख बनाउनुपर्ने तर्क समेत छ । तसर्थ लैंगिक हिसाबले समेत सन्तुलन मिलाउनुपर्ने अवस्थामा ओनसरी घर्तीको नाममा सहमति हुनसक्ने स्रोतले जनाएको छ । तर, घर्ती स्वयंम्ले चाहिँ ‘सभामुख पदका लागि इच्छुक नरहेको’ र पार्टीमा फरक भूमिकामै बस्न चाहेको बताएकी छन् ।
सभामुख बन्ने नामको चर्चामा दोस्रो नाम छ देव गुरुङको । प्रतिनिधि सभामा नेकपा सचेतक रहेका गुरुङ संसदीय अभ्यासमा अनुभवी मानिन्छन् । उनी जनजाति समुदायको प्रतिनिधित्व समेत गर्ने भएकाले उनको नाममा सहमति हुनसक्ने सम्भावनाबारे समेत पूर्व माओवादीभित्र चर्चा चल्ने गरेको छ । सत्तारुढ दलका प्रमुख सचेतक भएर पनि संसदमा सरकारको आलोचना गरेको भन्दै उनलाई दिन नहुने भन्दै नेकपाभित्र समेत लविङ सुरु भएको छ ।
पूर्व माओवादीभित्रका चर्चित नेता अग्नी सापकोटाको नाम समेत सभामुखका उम्मेदवारको सूचीमा पर्ने गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अत्यन्त निकट विश्वासपात्र समेत रहेका सापकोटा सभामुख हुनसक्ने नामहरूको सूचीमा पर्छ ।
अर्का नेता लेखराज भट्टको नाम समेत सभामुखको चर्चामा छ । भेगीय सन्तुलन मिलाउन तथा पाका र सालिन नेताको प्रतिनिधित्व गराउन भट्टलाई सभामुख बनाउनुपर्ने लविङ समेत नेकपाभित्र देखिएको छ । भट्ट नेकपा अध्यक्ष प्रचण्डका समेत विश्वासिला नेता मानिन्छन् । उनलाई सभामुख बनाउन नेकपाका नेताहरु लविङमा छन् ।
पुर्व माओवादीमा सहमती नभए सभामुख पुर्व एमालेमा जाने देखिन्छ । त्यो अवस्थामा सुवास नेम्वाङ समेत सभामुख बन्न सक्नेछन् । प्रधानमन्त्री ओलीको समेत उनलाई साथ रहेको स्रोतको दाबी छ ।
सभामुख चयनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएपछि सचिवालय बैठकबाट निर्णय हुनेछ । सभामुख चयनको संसदीय प्रक्रिया र कानूनी अड्चन समाधान गरेपछि नेकपाले सभामुख चयनको औपचारिक प्रक्रिया सुरु गर्ने स्रोतले जनाएको छ ।




प्रतिक्रिया