काठमाडौं – बुद्ध नेपालमा जन्मिएकोमा नेपालीले गौरव गर्छन् । बुद्धको जन्मबारे भारतले गर्ने भ्रामक दाबीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन्छन् ।
बुद्धको जन्मबारे नेपालीको दाबी स्वभाविक पनि हो । तर नेपालीले बुद्ध दर्शनलाई व्यवहारमा लागू गर्छन् त ? सरसफाइको सन्दर्भमा बुद्ध दर्शन नेपालीको व्यवहारमा लागू भएको छैन ।
बुद्ध दर्शनकै प्रभावका कारण जापानले चामत्कारिक सफाइ गरेर देखाउन सफल भएको छ । सफाइको विषय जापानीहरूको संस्कारमा बसिसकेको छ ।
बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार १२ औं र १३ औं शताब्दीमा चीनबाट जापान पुगेको बौद्ध धर्मको जेन संस्करणले सफाइ र खाना पकाउनुलाई ध्यान लगाउनुजस्तै आध्यात्मिक अभ्यास मानेको छ । जापानको हिरोसिमा प्रदेशको फुकुयामास्थित सिसोजी मन्दिर क्षेत्रकी कुवागाकीले भनिन्, ‘जेनमा खाना बनाउनु र सफा राख्नु लगायत जीवनका सबै गतिविधि बौद्ध धर्मको अभ्यास गर्ने अवसरका रुपमा लिइन्छ । भौतिक र आध्यात्मिक सबै प्रकारका फोहोरलाई सफा राख्नु दैनिक अभ्यासको अभिन्न हिस्सा हो ।’
चिया सम्मेलन र जेन दर्शनको महत्वबारे बताउने आकाकुरा काकुरोको क्लासिक पुस्तक ‘द बूक अफ टी’मा लेखिएको छ, ‘जुन कोठामा चिया सम्मेलन हुन्छ, त्यहाँ सबै कुरा एकदम सफा हुन्छ ।’ ओकाकुराले सन् १९०६ मा लेखेको कुरा आज पनि उत्तिकै मननीय छ ।
बौद्ध धर्म मान्ने सबै देश जापान जत्तिकै सफा किन छैनन् त ? बौद्ध धर्म प्रचलनमा आउनुअघि जापानमा धर्म थियो – सितो । जसको अर्थ हुन्छ ईश्वरको बाटो ।
स्वच्छता सितोको केन्द्रमा छ । पश्चिमी देशहरूमा स्वच्छता ईश्वरको नजिक रहेको भनेर पढाइ हुन्छ । सितोमा स्वच्छता नै ईश्वर हो । बौद्ध धर्मले स्वच्छतालाई जोड दिएपछि जापानीलाई सफाइलाई थप प्रबद्र्धन गर्न सहज भयो । पहिल्यैदेखि गर्दै आएको सफाइ अभ्यासलाई जापानीले बौद्ध धर्मपछि थप परिस्कृति र सुधार गरे ।
विद्यार्थीलाई नै शौचालय सफाइको जिम्मेवारी
जापानका विद्यालयमा विद्यार्थीलाई सफाइ सम्बन्धी व्यावहारिक र प्रयोगात्मक शिक्षा दिने गरिएको छ । विद्यालयको परिसरदेखि शौचालयको सफाइ विद्यार्थीले नै गर्ने गर्छन् । जापानका विद्यालयमा विद्यार्थी लहरै उभिएको बेला विभिन्न लाइनमा उभिएका विद्यार्थीलाई विभिन्न क्षेत्रको सफाइको जिम्मेवारी दिइन्छ । कक्षाकोठा, विद्यालय परिसर, सिँढी र शौचालय सफा गर्ने जिम्मेवारी छुट्टाछुट्टै लहरमा उभिएका विद्यार्थीलाई दिएपछि विद्यार्थी सरसफाइमा खटिन्छन् ।
सफाइको जिम्मेवारी पाएपछि विद्यार्थी आफैं कुचो, कपडा, पाल्टी र पानी बोकेर सफाइमा लाग्छन् । विद्यार्थीमा सिकेको सफाइ संस्कार विद्यार्थीले घरपरिवार र समाजमा समेत प्रयोग गर्छन् । जापानमा सफाइबारे किताबी ज्ञान मात्रै होइन, प्रयोगात्मक सिकाइ गरिन्छ ।
हिरोसिमा प्रदेश सरकारको टोकियो कार्यालयकी सहायक निर्देशक माइको अवानेले भनिन्, ‘प्राथमिकदेखि माविसम्म १२ वर्षे विद्यालय जीवनमा विद्यार्थीको दैनिक समयतालिकामा सरसफाइका लागि समेत समय छुट्याइएको हुन्छ । घरमा समेत आमाबुवाले सरसफाइ सिकाउँछन् ।’ आफैं सफा गर्नुपर्ने भएपछि विद्यार्थीले विद्यालय र घरमा फोहोर समेत गर्दैनन् । लेखक चिका हयासीले विद्यालय जीवन सम्झँदै भनिन्, ‘म विद्यालय सफा गर्न चाहँदैन्थे तर सफाइ विद्यालयको दैनिक समयतालिकामा भएकाले मैले यसलाई स्वीकार गर्नु नै प¥यो ।’
जापान स्वच्छताको नमूना उदाहरण
जापानका सरसफाइ सम्बन्धी उदाहरण विश्वभर चर्चित भइरहेका छन् । सिनकासेट बुलेट रेलको सफाइ ७ मिनेटमा हुने कार्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जापानका फूटबल प्रेमी पनि स्वच्छताप्रति जागरुक देखिएका थिए ।
सन् २०१४ मा ब्राजिल र सन् २०१८ मा रुसमा भएको विश्वकप फूटबल खेल सकिएपछि जापानी फूटबल प्रेमी सरसफाइका लागि मैदानमा रोकिएका थिए र उनीहरूले स्टेडियममा फैलिएको फोहोर सफा गरेका थिए । जापानी खेलाडी समेत आफ्नो डे«सिङ रुममा कुनै फोहोर छाड्दैनन् । सफाइबारे फिफाकी जनरल कोअर्डिनेटर प्रिसिला जेनसेन्सले ट्विट गरेकी थिइन्, ‘सबै टीमका लागि कस्तो उदाहरण हो ।’
सफाइ दिनचर्या
जापानमा सार्वजनिक सफाइ दिनचर्याजस्तै बनेको छ । बिहान ८ बजे आसपास हरेक कार्यालय र पसलका कर्मचारी आसपास सडकमा सफाइ गर्छन् । विद्यालयका बालबालिका सामुदायिक सरसफाइका लागि सडकमा आउँछन् । सडकमा धेरै फोहोर देखिँदैन, किनकि सबैले फोहोर आफ्नै घरमै राख्छन् ।
आँखाले देखिने फोहोर सहजै व्यवस्थापन भएपनि जापानमा आँखा नदेखिने फोहोर, किटाणु र जिवाणु चिन्ताको विषय बनेको छ । जापानमा गर्मी मौसमका कारण खानेकुरा छिट्टै खराब हुन्छन् । जिवाणु तीब्रताका साथ फैलिन्छन्, त्यही भएर सरसफाइमा ध्यान राख्दै जापानीहरूले स्वास्थ्य राम्रो बनाउँछन् ।
यदि कोही विदेश जापान गए भने छिट्टै आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउँछन् । सार्वजनिक ठाउँमा आफ्नो नाक कोट्याउन बन्द गर्छन् । फोहोरलाई १० भागमा वर्गीकरण गरेर पुनः प्रयोग गर्न सक्ने बनाउँछन् । जापानमा सरसफाइको जागरुकता र व्यावहारिक प्रयोग अद्भुत र चामत्कारिक छ ।
बुद्ध दर्शन अँगाल्ने जापानले सफाइमा नमूना प्रदर्शन गरिरहेका बेला बुद्धको जन्मभूमि नेपालमा भने फोहोरको विकराल समस्या छ । फोहोर व्यवस्थापन र सफाइको शिक्षा किताबी पढाइ र परीक्षामै सीमित छ । सफाइको प्रयोगात्मक ज्ञान र संस्कारको विकास नहुँदा फोहोरबाट हुने धेरै रोगबाट नेपालीले समस्या भोग्नुपरेको छ । अब सफाइ सम्बन्धी बुद्ध दर्शनलाई नेपालीले पनि प्रयोगमा ल्याउने कि ?




प्रतिक्रिया