काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टी्भित्र पसेर कम्युनिस्ट पार्टीलाई नै समाप्त पार्ने ‘धमिरो प्रवृत्ति’ बढेको भन्दै चिन्ता प्रकट गरेका छन् ।
पार्टी कामको सिलसिलामा वीरगञ्ज पुगेका नेता नेपालले त्यहाँको स्थानीय एफएमसँग आइतबार कुराकानी गर्दै नेतृत्वको ध्यानाकर्षण गरे ।
‘रात परेपछि रक्सीमा चुर्लुम्म डुब्ने र अनैतिक काम गर्ने को–को हुन् ? पार्टीले चिन्नुपर्यो ! कम्युनिस्ट पार्टी्भित्र पसेर भित्रभित्रै छुरा रोप्ने, कम्युनिस्ट आचरणमा नरहने, बिनापैसा काम नगर्ने, पैसाको वरिपरि घुम्ने को–को हुन् ? पार्टीले चिन्नुपर्यो’, उनले भनेका छन् ।
उनले कम्युनिस्ट पार्टी्भित्रै सङ्गठित भएकाले पार्टीलाई सिध्याउन लागिपरेको बताउँदै नेतृत्वले आँखा र कान खोल्नुपर्ने र तलका नेता कार्यकर्ताले भनेका कुरा सुन्नुपर्ने धारणा राखेका छन् ।
‘आफ्नो दायित्व पूरा नगर्ने को–को हुन् ? पार्टीका इमान्दार नेता पन्छाएर सानो कोटरीका लागि काम गर्ने को–को हुन् ? क्रान्तिकारी, कम्युनिस्ट पार्टीका नेता, कार्यकर्तामा हुनुपर्ने गुण के–के हुन् ? कोसँग छ, कोसँग छैन ? कसले वर्गीय दृष्टिकोणमा आधारित भएर काम गर्छ, कसले गर्दैन, सबैको मूल्याङ्कन हुनुपर्छ । राम्रो कुरालाई प्रोत्साहित गर्नुपर्छ । नराम्रो कुरालाई निरूत्साहित गर्नुपर्छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्छ, नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्छ, तबमात्र फोहोर फालिन्छ । पार्टी सफा भएर बग्छ,’ उनले विचार राखेका छन् ।
कम्युनिस्ट पार्टीका नाममा कलङ्क त छैनन् ? भन्दै नेता नेपालले प्रश्न पनि गरे ।
‘समाजमा होस् या पार्टीमा सबैखालका विकृति विसङ्गति आचरणसँग जोडिएका हुन्छन् । पैसासँग जोडिएका हुन्छन् । यी सबै अनुचित कुराहरूलाई हामीले त्याग्नुपर्छ । हामीले मान्छेलाई सत्चरित्रताको दिशामा अघि बढ्न उत्प्रेरित गर्नुपर्छ । यो त्यतिबेला सम्भव छ, हामी आफैँ सत्चरित्रवान् हुन्छौं । इमान्दार हुन्छौं । मिहिनेती, कर्तव्यपरायण हुन्छौं । हामीले व्यवहारबाट राम्रो आचरण देखाउन सकेनौं भने अरूलाई भन्ने कुराको अर्थ रहँदैन,’ उनले भनेका छन् ।




प्रतिक्रिया