नवलपरासी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामप्रति सामाजिक सञ्लालले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन् ।
मंगलबार पश्चिम नवलपरासीको परासीमा नेकपाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अब सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अब विस्तारै विकास र समृद्धिको नतिजा देखिदै जान्छ’ उनले भने ।
मन्त्री पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गरे। विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउँदै मन्त्री पुनले सरकारले गरेका काम जनतासम्म र्पुयाउनुपर्ने दायित्व पार्टीको भएको पनि बताए ।
एक फरक प्रसङ्गमा उनले पार्टी एकता अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भने, ‘सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय सङ्गठन लगायतको एकता टुङ्ग्याउन बाँकी छ, अव त्यो पनि छिट्टै टुङ्ग्याउँछौँ ।’




प्रतिक्रिया