महोत्तरी – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर कायम रहेको बताएका छन् ।
पार्टीको महोत्तरी, पिपरा कार्यसमितिले उपचुनावलाई लक्षित गरी बुधबार आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यो भनाइ दोहोर्याएका हुन् ।
दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिएका दाहालले चुनावी कार्यक्रममै पहिलोपटक मधेससँग ‘लभ’ परेको वक्तव्य सार्वजनिक गरेका थिए । उनले भने, ‘मधेससँग परेको लभ निरन्तर कायम रहेको प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु ।’
मधेसलाई भ्रष्टाचारमुक्त बनाउन, समृद्धिको बाटोमा डोर्याउन र संविधान संशोधनको लागि नेकपा उमेदवारलाई मतदान गर्नुपर्ने उनले बताए । ‘पिपरा गाउँपालिकामा हुने उपचुनावमा नेकपाका उम्मेदवारलाई जिताउनुस् अनि हेर्नुस् विकासको गति’, उनले भने ।
मधेसीकै मतले निर्वा्चित भएपछि दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका प्राप्त भएको उल्लेख गर्दै प्रचण्डले मधेस भ्रष्टाचार विरुद्ध रहेको र मधेसको साथमा नेकपा रहेको जिकिर गर्दै उपेन्द्र यादवसित आफू र प्रधानमन्त्री केपी ओलीले संयुक्त रुपमा हस्ताक्षर गरी संविधान संशोधनको लागि प्रतिबद्धता जाहेर गरेको स्मरण गरे ।
‘विगतमा पनि मैले मधेशसँग मेरो प्रेम छ भनेको थिएँ, अहिले फेरि दोहोर्याएर भन्छु मेरो मधेश प्रेम जारी नै छ’, प्रचण्डले भने, ‘संविधान मधेशी जनताले भने अनुसार आएन की भन्ने जुन प्रश्न छ, संविधान संशोधनका लागि दुई बुँदे सहमतिमा प्रधानमन्त्री ज्यू र मैले हस्ताक्षर गरेका छौं ।’
चार वर्ष देखि निर्माण भइरहे पनि अधुरै रहेको जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्यमा गति बढाउन विभागीय मन्त्रीसँग उनले माग गरे । उनले भने, ‘अब पनि कुनै बहानामा ढिलाइ भयो भने म पार्टी अध्यक्षकै हैसियतले पनि जनतासँग आन्दोलनमा उत्रिन्छु ।’




प्रतिक्रिया