काठमाडौं – अस्वस्थ भएर ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा अोलीको आज दोस्रोपटक मृगौलाको डायलाइसिस गरिने भएको छ । बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस हिजै गरिएको छ ।
प्रधानमन्त्रीको अवस्था सामान्य भनिए पनि उनलाई हिजो दिनभर आईसियूमा राखेर उपचार गरिएको थियो । साँझ भने क्याबिनमा सारिएको थियो ।
प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलाइसिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको चिकित्सकहरुले बताएका छन् ।
शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ ।
दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ । त्यसपछि भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने सम्भावना रहेको अस्पतालले जनाएको छ ।
स्वस्थ मृगौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ । बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन । त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ ।
यदी दोस्रो डायलाइसिसले काम नगरे प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ ‘प्लाज्मा फेरासिस’ गरेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका थिए ।
शरीरबाट ‘एन्टिबडिज’ हटाउनका लागि प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गरिएको हो । ‘प्लाज्मा फेरेसिस’बाट मिर्गौलालाई फाइदा नपुगे डायलाइसिसमा जानुपर्ने र त्यसबाट पनि नभए मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
१२ वर्षअघि भारतको अस्पतालमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मृगौला दान गरेकी थिइन् ।




प्रतिक्रिया