प्रधानमन्त्रीजी आज बालुवाटार जाँदै हुनुहुन्छः अध्यक्ष प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्जार्च हुने बताएका छन् । बिहीबार प्रधानमन्त्री ओली भेट्न ग्राण्डी अस्पताल पुगेका प्रचण्डले प्रधानमन्त्री डिस्चार्ज हुन लागेको बताएका हुन् ।
झण्डै एक घण्टा अस्पतालमा बिताएर फर्किएका प्रचण्डले केहीछिन आराम गरेर बालुवाटार फर्किने जानकारी दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको डायलाइसिस भएको छ । केहीछिन आराम गरेर आज बालुवाटार जाँदै हुनुहुन्छ ।’
उनले प्रधानमन्त्रीको डायालाइसिस बुधबार र बिहीबार गरी दुईपटक भएको बताए । प्रचण्डले छिटो–छिटो समस्या देखा परेका कारण डायलासिस गर्ने निष्कर्षमा डाक्टर पुगेको बताए ।
‘समस्या छिटो–छिटो देखापर्यो, अहिले चाहिँ सामान्य छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै प्रचण्डले भने ।
उनले पुनः मिर्गौला प्रत्यारोपणबारे कुरा नभएको र चिकित्सकले अवस्था सामान्य रहेको बताएको जानकारी दिए ।