सन्दीपजंगको फिङ्गर प्रिन्ट जाँच गरियोस : जीतजंग बस्नेत

सन्दीपजंगको फिङ्गर प्रिन्ट जाँच गरियोस : जीतजंग बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले पेस्तोलसहित पक्राउ परेका तरुण दल बाँके नेपालगञ्जका नगर अध्यक्ष सन्दीपजंग शाहको फिङ्गर प्रिन्ट जाँच गरि सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाह हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरी आफैंले लगेको हतियार शाहको गाडीबाट बरामद भएको भन्दै झुठो बहाना बनाएर फसाउने र सामाजिक आतंक सृजना गर्ने र लोकतन्त्रवादी तरुणलाई दुःख दिने कुत्सित एवं दुरासययुक्त नियतले नगर अध्यक्ष शाहलाई पक्राउ गरिएको पनि दाबी गरेका छन् ।

अध्यक्ष बस्नेतले पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न र निर्दाेष तरुण नेतालाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने प्रहरीहरुमाथि हदैसम्मको कारवाही गर्नसमेत माग गरेका छन् । तरुण दलले माग बेवास्ता गरे सरकारले गमभीर मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएको छ । प्रहरीले बिहीबार बेलुकी साढे ८ बजे नगर अध्यक्ष शाहसँगै दिनेशकुमारी शाही, राघव शाह, पृतम थापा, माधव नेपाली र यामबहादुर बुढामगरलाई कोहलपुरको नमस्ते भिलेज रिसोर्टबाट पक्राउ गरेको थियो ।