संवैधानिक व्यवस्थाअनुरुप प्रदेश प्रमुखहरु पदमुक्त भएका हुन्ः विष्णु पौडेल

संवैधानिक व्यवस्थाअनुरुप प्रदेश प्रमुखहरु पदमुक्त भएका हुन्ः विष्णु पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका दलहरुले प्रदेश प्रमुखहरुलाई एकैसाथ हटाउने निर्णयप्रति आपत्ति जनाइरहेका बेला महासचिव पौडेलले भने सरकारको त्यो निर्णयलाई स्वभाविकै रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका हुन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संवैधानिक प्रक्रियाअनुसार नै प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्तिको प्रक्रिया सुरु गर्दा अन्य दलहरुसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने आफूलाई नलागेको पनि बताए ।

उनले भने, ‘संवैधानिक व्यवस्थाअनुरुप नै प्रदेश प्रमुखहरु पदमुक्त भएका छन् र सरकारले मनोनयनको प्रक्रिया पनि अघि बढाएको छ, सरकारले संवैधानिक प्रक्रिया अनुसार त्यो काम गर्दाखेरी अन्य दलहरुको सरकारसँगको सहकार्यको बाटो बन्द हुन्छ भन्ने मलाई लाग्दैन ।’ महासचिव पौडेलले लोकतन्त्रमा सरकारको विरोध गर्न पाइने भएकाले त्यसको आफूले सम्मान गर्ने पनि बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई गएको आइतबार पदमुक्त गरिएको थियो ।

पार्टीले अमिक शेरचन(चितवन), सोमनाथ अधिकारी प्यासी(कास्की), तिलक परियार(बाँके), धर्मनाथ यादव(सिरहा), गोविन्द कलोनी(डडेलधुरा), विष्णु प्रसाईँ(झापा) र शर्मिला त्रिपाठी(काठमाण्डौ) को नाम प्रदेश प्रमुख पदका लागि सिफारिस गरेको छ ।