काठमाडौँ – राष्ट्रिय सुरक्षा परिषद्ले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको हो । परिषद्को यो निर्णयसँगै चुनावका लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहने गरी सेना परिचालन हुने भएको हो ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले उपनिर्वाचन सुरक्षामा सेना परिचालन र राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्न स्वीकृति दिएको छ,’ स्रोतले भन्यो, ‘अब सुरक्षा परिषद्बाट स्वीकृत विषय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको नेतृत्वमा चुनावी सुरक्षा कार्ययोजना लागू गर्ने बाटो खुल्ने छ ।’
नेपालको संविधान २०७२ अनुसार सुरक्षापरिषद्बाट निर्णय र मन्त्रिपरिषद्बाट स्वीकृत भई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न सक्ने व्यवस्था छ । परिषद्को स्वीकृति मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि गृह मन्त्रालयले सेनाको नेतृत्वमा ३७ जिल्लामा उपनिर्वाचन संयुक्त सुरक्षा फौज तैनाथ गर्ने छ ।यो समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया